हाम्रो पार्टीमा विशाल कार्यकर्ता छन् त्यसैले सबैलाई एकै प्रकारको जिम्मेवारी दिन सकिँदैन : पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा सबैलाई एकै प्रकारको कामको जिम्मेवारी दिन नसकिने बताएका छन् ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेकपाको निरन्तरताका नाममा माधव नेपाल समूहका नेताहरुलाई विभेद गरेको भन्ने गुनासोबारे पत्रकारहरुले राखेको जिज्ञासामा महासचिव पोखरेलले पाटीमा कसैलाई भेदभावपूर्ण व्यवहार नगरेको दावी गरेका हुन् ।
उनले नेकपा एमालेले आठौं महाधिवेशनबाट नै पार्टीमा नयाँ पुस्ता भित्र्याएको दावी गर्दै एमालेको सिको अहिले अन्य दलले पनि सिक्न थालेको बताए ।
‘यो विभेद होइन, हाम्रो पार्टी विशाल कार्यकर्ता भएको पार्टी हो । यो पार्टीमा झापा, विद्रोह, ३६, ४६ र ०६३ को आन्दोलनबाट हुर्किएको पंक्ति छ । सबैलाई एकै प्रकारको कामको जिम्मेवारी दिन सकिँदैन’, पोखरेलले भने, ‘सक्षम नेताहरुको विशाल पंक्ति भएकाले हरेकले हरेक काम गर्न सक्नुहुन्छ ।’
‘हाम्रो पार्टीमा निर्वाचनको प्रक्रियाबाट आठौं महाधिवेशनबाटै नयाँ पुस्ताको प्रवेश भयो । पुस्तान्तरणमा हामी पहिलो हौं, अरु पार्टीले त्यसलाई फलो गरे’ महासचिव पोखरेलको भनाइ छ ।
उनले हालै मात्र एमालेको विधान महाधिवेशनले तीन पुस्तालाई जोड्ने भनेको भन्दै महिलालाई समेत ३३ प्रतिशत सुनिश्चित गरेको दावी गरे । एमसीसीबारे सोधिएको प्रश्नमा पोखरेलले सरकारको निर्णय हेरेर मात्रै एमालेले धारणा तय गर्ने बताए ।