Logo
६ पुस २०८१, शनिबार
(December 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस महाधिवेशन : सभापतिसहित ६० जनाले लिए उम्मेदवारी फिर्ता

शुक्रबारदेखि काठमाडौंमा जारी कांग्रेसको महाधिवेशनमा पदाधिकारीसहित केन्द्रीय समितिमा उम्मेदवारी दर्ता गराएका मध्ये ६० जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएको निवार्चन समितिले जानकारी दिएको छ ।

निर्वाचन समितिले आइतबार मध्यान्ह साढे १२ बजेसम्म दिएको समयसिमासम्ममा ६० जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जानकरी दिएको हो ।

निर्वाचन समितिका अनुसार सभापतिका उम्मेदवार युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् भने सहमहामन्त्री (थारु कोटा) तर्फका उम्मेदवार सुरेन्द्र चौधरीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै अरु ५८ जना केन्द्रीय सदस्यका उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका छन् । सभापतिका उम्मेदवार न्यौपानेले शेखर कोइराला र सुरेन्द्रले उमाकान्त चौधरीलाई सघाउनेछन् ।

शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । अब सभापतिमा ५ जनाबीच भिडन्त हुनेछ । जसअनुसार कल्याणकुमार गुरुङ, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवा प्रतिस्पर्धामा रहने निश्चित भएको छ ।

दुई उपसभापति पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा महेश आचार्य, सुजाता कोइराला, डा.चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी शाह, पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार रहेका छन् ।

दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । जसमा गगनकुमार थापा, डा.मिनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, डा.राजाराम कार्की, प्रदीप पौडेल र डा. प्रकाशशरण महत रहेका छन् ।

कांग्रेसको महाधिवेशनको निर्वाचन पक्रिया शरु भइसकेको । कांग्रेसको संस्थापन पक्षका आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल कांग्रेसको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

 

प्रकाशित मिति: Dec 12, 2021

प्रतिक्रिया दिनुहोस्