साउदी अरेबियाली सेनाको हवाई कारबाहीमा १९० हुथी विद्रोहीको मृत्यु
साउदी अरेबियाली सेनाको हवाई कारबाहीमा १९० हुथी विद्रोहीको मृत्यु भएको छ ।प्राप्त समाचार एजेन्सी अनुसार उक्त सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि १९० जना हुथी विद्रोहीहरूको ज्यान गएको साउदी अेरिबयाको सरकारी प्रेसले जनाएको छ ।
यमनको मध्य क्षेत्रीय प्रान्त मारिब र यससँगैको अर्को प्रान्तमा शनिवार साउदी अरेबिया नेतृत्वको सैन्य समूहले हवाई कारबाही जारी राखेको बताइएको छ ।
यहाँ १९० जना मारिएका र अरू कैयौँ घाइते भएका यमनको सरकारी सेनाले पनि शनिवार राति पुष्टि गरेको जानकारी दिएका छन् । यमनमा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगतदेखि नै हुथीका विरुद्धमा कारबाही गर्दै आएको छ ।
उक्त सैन्य समूहमा यमनी सेना पनि रहने गर्दछन् । मारिब क्षेत्रमा ठुलो सङ्ख्यामा हुथी विद्रोहीहरू रहेको सूचनाको आधारमा सो आक्रमण गरेको थियो ।
साउदी प्रेसका अनुसार यहाँको सेनाले शनिवार गएको २४ घण्टाभित्रमा कम्तीमा पनि ३६ ओटा साना ठुला आक्रमणहरू गरेको पाइएको छ । उक्त हवाई आक्रमणमा १९० जना हुथी विद्रोही मारिएका र त्यस कारबाहीका क्रममा अरू केही घाइते भएका पनि बताइएको छ ।
शनिवारको सो आक्रमणका क्रममा हुथी विद्रोहीहरूका कम्तीमा पनि २० ओटा आश्रय स्थल नै ध्वस्त पारिदिएको बताइएको छ ।
उक्त प्रान्तमा यसअघि पनि समयसमयमा साउदी अरेबियाको नेतृत्वको सेनाले हमला गर्ने गरेको पनि बताइएको समाचारमा उल्लेख गरिएको छ ।साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोही विरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ ।
यमनको गृहयुद्धका कारण हजारौँको ज्यान गइसकेको छ भने लाखौँ विस्थापित छन् ।यस पछिल्लो कारबाहीका क्रममा हुथीहरुले प्रयोग गर्ने गरेका केही शक्तिशाली हतियारहरू पनि पक्राउ गरिएको समाचारमा जनाइएको छ ।