कार्यसमिति सहमतिमै टुंग्याउन ओली छलफलमा, बन्दसत्र छोटो हुने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पदाधिकारीसहित १० औं महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय कमिटी सहमतिमै टुंग्याउन छलफल गरीरहेका छन् ।
उनले पार्टीका शीर्ष नेताहरुलाई आइतबार आफू बसेकै होटलमा बोलाएर छलफल गरिरहेका छन् । अध्यक्ष ओलीले अध्यक्ष पदका दाबेदार तथा निर्वाचनबाटै नेतृत्व चयन गर्नुपर्ने पक्षमा रहेका नेता भीम रावलसँग पनि वार्ता गर्ने भएका छन् ।
केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम घोषणा नगरे पनि रावलले आफ्नो उम्मेदवारीका सम्बन्धमा प्रचार प्रसार गर्दै आएका छन् ।
पदाधिकारी तथा केन्द्रीय सदस्यहरुबारे सहमति जुटाएर आइतबार छोटो बन्दसत्र कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ । बन्दसत्र करिब आधा घण्टामात्रै हुनेगरी तयारी भएको बताइएको छ ।
आइतबार बन्दसत्रले ओलीलाई नै पदाधिकारी र केन्द्रीय सदस्यको प्रस्ताव गर्ने जिम्मेवारी दिएको थियो । तर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका रावलले निर्वाचन हुनुपर्ने भन्दै आफ्नो पक्षमा प्रचार प्रसार थालेपछि निर्वाचन हुने कि नहुने भन्नेमा अन्योल बढेको छ ।