Logo
४ आश्विन २०८१, शुक्रबार
(November 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्याँस किन चाहियो ? हामीसँग विद्युत नै फालाफाल छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताएका छन्।

मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईपान)को १९ र २० औँ साधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालन गर्नुपर्ने बताए।

उनले विद्युतीय चुल्हो र बस सञ्चालनका लागि उद्यमी, व्यवसायीहरुलाई सरकार प्रोत्साहन गर्न तयार रहेको बताए। प्रधानमन्त्री देउवाले देशभर विद्युतीय सामग्रीहरुको प्रयोगगरी देशलाई नमुना बनाउनुपर्नेमा जोड दिए।

उनले ऊर्जा उत्पादकहरुले खल्तीमा लाइसेन्स लिएर काम नगर्ने गरेको भन्दै काम गर्न पनि आग्रह गरे।

उनले भने, ‘हामीले किन यो ग्यासको चुल्हो बाल्ने? हामीसँग यति विद्युत छ कि हामी व्याट्रीबाट गाडी चलाउन सक्छौँ। बस चलाउन सक्दछौँ। हाम्रो चुल्हो पनि इलेक्ट्रिक चुल्हो हुन सक्दछ। हामी नेपालभरी नै विस्तार–विस्तार यता जानुपर्छ जस्तो लाग्छ मलाई। त्यस्ता जो उद्यमी हुनुहुन्छ, व्यापारी हुनुहुन्छ त्यस्तालाई इन्सेन्टिभ दिन तयार छौँ। काठमाडौँमा कमसेकम व्याट्रीबाट गाडीहरु सञ्चालन गरौँ।’

उनले थपे, ‘घरमा खाना पकाउने इलेक्ट्रिक चुल्हो बनाउँ। भोलि तराई, मधेश सबै ठाउँमा इलेक्ट्रिक बस चलाउन सक्यौँ भने नेपाल नमुना बन्न सक्दछ। उद्योगपतिहरुलाई के भन्न चाहन्छु भने तपाईहरु सुरु गर्नुस्। सरकारले इन्सेन्टिभ दिन्छ।’

कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले निजी क्षेत्रको माग बमोजिम निजी क्षेत्रलाई पनि विद्युत व्यापारको अनुमति दिन सरकार तयार रहेको बताइन्।

निजी क्षेत्रलाई विद्युत व्यापार गर्नसक्ने विश्वासिलो आधारसहित आउनको निम्ति उनले आग्रह गरिन्।

मन्त्री भुसालले नेपालमा विद्युत उत्पादनको तुलनामा विद्युतको माग र खपत बढ्न नसकेको कारणले उत्पादित विद्युत खेर गइरहेको बताइन। विद्युत खेर जाँदा निजी क्षेत्र, लगानी गर्ने बैंक र राज्यले नै क्षति बेहोर्नुपरेको उनको भनाइ छ।

प्रकाशित मिति: Nov 16, 2021

प्रतिक्रिया दिनुहोस्