Logo
४ आश्विन २०८१, शुक्रबार
(October 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमती प्रदेश मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले ५९ सांसदको हस्ताक्षरसहित दाबी पेस गरे

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एंव बागमती प्रदेश सभा सदस्य राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीका लागि ५९ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका छन्।

माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादी र जनता समाजवादीका गरि ५९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी गरिएको माओवादी केन्द्रकी सांसद कुमारी मोक्तानले जानकारी दिइन्।

नयाँ सरकार गठनको दाबी गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि दिउँसो ३ बजेसम्मको समय दिएका थिए। प्रदेश प्रमुख कार्यालयले विज्ञप्ति निकालेको एकाध घन्टामै गठबन्धनले सरकारको दाबी गरेको हो।

बहुमतका लागि ५५ सांसद आवश्यक पर्दछ। तत्कालीन नयाँ शक्ति पार्टीबाट रसुवामा विजयी प्रेमबहादुर तामाङसहित गठबन्धनको पक्षमा ५९ सांसदले हस्ताक्षर गरेका हुन्। हाल कायम कूल १०९ सांसदमा गठबन्धनबाट माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाका १ सांसद छन्।

३ सांसद रहेको विवेकशील साझा पार्टीले पाण्डेलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेको छैन। उक्त दलका सांसद विराजभक्त श्रेष्ठले भने,‘विश्वासको मत दिने बेला पार्टीमा छलफल गरेर निर्णय लिन्छौं।’

२/२ सांसद रहेका नेपाल मजदुर किसान पार्टी र राप्रपाले पनि पाण्डेलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेनन्। ४३ सांसद रहेको एमाले प्रमुख प्रतिपक्ष हुने भएको छ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएपछि पाण्डे नयाँ मुख्यमन्त्री बन्न लागेका हुन्। बिहीबार नै पाण्डेसहित गठबन्धनका दलबाट १/१ जनाले मन्त्रीको शपथ लिने बताइएको छ।

प्रकाशित मिति: Oct 27, 2021

प्रतिक्रिया दिनुहोस्