परमादेश दिने सबै न्यायाधीशलाई हटाउनुपर्छ भन्ने ओलीको अभिव्यक्ति गैरजिम्मेवार : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले परमादेश दिने सबै न्यायाधीशलाई हटाउनुपर्दछ भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाएका छन् । साथै देउवाले अदालतबारे जथाभावी नबोल्न ओलीलाई चेतावनी समेत दिएका छन् ।
कांग्रेसको युवा संगठन नेपाल तरुण दलको स्थापना दिवसमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले परमादेश दिने सबै न्यायाधीशलाई हटाउनुपर्दछ भनेर ओलीको गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाएका हुन् ।
देउवाले भने ‘परमादेश दिने सबै न्यायाधीशलाई हटाउनुपर्दछ भन्ने गैरजिम्मेवार कुरा गर्नु उचित हुँदैन ।’परमादेशबाट संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरूले गरेको प्रधानमन्त्री देउवाको दाबी छ ।
एमालेको नगर अधिवेशनलाई सम्बोधन गर्दै मंगलबार ओलीले परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा गर्नुपर्ने बताएका थिए । परमादेश जारी गर्ने पाँचजना न्यायाधीशमाथि ओलीले प्रश्न उठाएपछि प्रधानमन्त्री देउवा बचाउमाा उत्रिएका हुन् ।
मंगलबार काँग्रेस शीर्ष नेताको बैठकमा पनि प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बचाउ गर्ने नीति अख्तियार गरेका थिए ।
उनले न्यायालयमा उठेको सवालका सन्दर्भमा सत्तारुढ गठबन्धनमा छलफल हुने देउवाको भनाइ छ । प्रधानमन्त्री देउवाले चर्को विरोधपछि उद्योगमन्त्रीबाट राजीनामा दिएका गजेन्द्र हमलाको पनि बचाउ गरेका छन् ।प्रधानमन्त्री देउवाले अदालतमा देखिएको विवाद अदालतले नै समाधान गर्ने बताए ।