Logo
८ पुस २०८१, सोमबार
(October 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुकुममा नवराज विकसहित ६ जनाको हत्या प्रकरण : आजबाट साक्षीको बकपत्र सुरु हुने

रुकुम पश्चिमको सोतीमा अघिल्लो बर्ष जेठ १० गते नवराज विकसहित ६ जनाको जनाको हत्याको घटनाका साक्षीको बकपत्र आजबाट सुरु हुने भएको छ ।

जिल्ला अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले मंगलबार दुवै पक्षका साक्षीलाई हाजिर गराइएको र आजबाट बकपत्र सुरु हुने जानकारी दिएका छन् ।

वादीतर्फका ३९ जना र प्रतिवादीतर्फका २३ जनालाई हाजिरी गराइएको श्रेष्तेदार बोहरा जानकरी दिए । उनीहरुको बकपत्र आगामी शुक्रबारसम्म गराइसक्ने योजना छ ।

गत वर्ष जेठ १० गते सोती गाउँकी प्रेमिका भनिएकी मल्ल थरकी केटीलाई लिन जाजरकोटबाट साथीसहित गएका नवराज विकसहित ६ जनाको ‘हत्या’ भएको थियो ।

अन्तरजातीय विवाहको विषयलाई लिएर भएको यो घटनामा संलग्न भएको आरोपमा चौरजहारी नगरपालिका-८ सोतीगाउँका ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत अभियोगमा मुद्दा दायर गरिएको छ ।

उक्त घटनामा जाजरकोटको भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ का टीकाराम नेपालीलाई उक्त घटनामा अमानवीय तवरले मारिएको थियो ।

छ जनाकै शव भेरी नदीमा भेटिएको थियो । नवराजसँगै गएका केही युवाले भने नदीमा हाम फालेर ज्यान जोगाएका थिए ।उक्त घटनाका २३ जना आरोपी पुर्पक्षका लागि कारागारमा छन् । ११ जनालाई भने तारेखमा छाडिएको थियो ।

सो घटनाबारे छानविन गर्न नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल (हालका शिक्षामन्त्री)को नेतृत्वमा संसदीय समिति गठन गरिएको थियो । सो समितिले सोती घटना नियोजित भएको निष्कर्ष निकालेको थियो ।

 

प्रकाशित मिति: Oct 27, 2021

प्रतिक्रिया दिनुहोस्