न्यायाधीशहरूलाई जबराले भने : ‘प्रश्न उठेका सबैले राजीनामा दिउँ, म पनि मार्ग प्रशस्त गर्छु’
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायाधीशहरूलाई प्रश्न उठेका सबैले राजीनामा दिने भए आफूले पनि दिने बताएका छन् ।
उनलेआफूलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका न्यायाधीशहरूलाई जवाफ दिएका हुन् । उनले प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने भए आफू मार्ग प्रशस्त गर्न तयार रहेको बताएका छन् ।
स्रोतका अनुसार जबराले न्यायाधीशहरूसँगको भेटघाटमा भने, ‘अरु न्यायाधीशहरूमाथि पनि प्रश्न उठेका छ । प्रश्न उठेका सबैले राजीनामा दिउँ, म पनि मार्ग प्रशस्त गर्छु । होइन भने मिडियाबाट उठेका विषयकै आधारमा राजीनामा दिँदै जाने हो भने न्यायपालिका बच्न सक्दैन ।’
जबराले आफ्नो नियुक्ति संवैधानिक भएकाले बहिर्गमन पनि संवैधानिक तबरबाटै हुने बताएका थिए । प्रधानन्यायाधीश जबरासँग आज भएको छलफलमा न्यायाधीशहरूले मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।
छलफलपछि न्यायाधीशहरु फेरि एक ठाउँमा बस्दै छन् । उनीहरूले आजको इजलासमा भाग नलिने भएका छन् ।