सर्वोच्चका १३ न्यायाधीशले आज प्रधानन्यायाधीश जबरालाई भेट्दै
सोमबार फुलकोर्ट बहिस्कार गरेका सर्वोच्च अदालतका १३ जना न्यायाधीशले आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भेट्ने भएका छन्।
प्रधानन्यायाधीशको सचिवालयका अनुसार उनीहरुले मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीश राणालाई भेट्ने कार्यसूचीले छ ।
न्यायालयमा बेथिति बढेको‚ सत्ता गठबन्धनमा प्रधानन्यायाधीश जबराले भाग खोजेको लगायतका विषयमा असन्तुष्टि जनाएका १३ न्यायाधीशले सोमबार प्रधानन्यायाधीश जबराले बोलाएको पूर्ण बैठक बहिष्कार गरेर छुट्टै बैठकमा बसेका थिए।
उक्त बैठकमा न्यायाधीशहरूले अदालतभित्र देखिएका विचलन र प्रधानन्यायाधीशको भूमिकाबारे समीक्षा भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए।
सोमबार प्रधानन्यायाधीश जबराले तोकेको इजलास पनि बहिष्कार गरेका न्यायाधीशहरूले जबरालाई भेटेर आफ्ना कुरा राख्ने र प्रधानन्यायाधीशले समाधान नगरे थप कडा कदम चाल्ने बताइएको छ।
सोमबार प्रधानन्यायाधीशले १३ जना न्यायाधीशका लागि ६ वटा संयुक्त र एउटा एकल इजलास तोकेको थिए। तर, ती कुनै पनि इजलास बस्न नसकेको प्रवक्ता दाहालले जानकारी दिए।
त्यस्तै सोमबार नेपाल बार एशोसियसनको बैठक बसेको थियो । उक्त बैठकले प्रधानन्यायाधीश जबराले न्यायपालिकाको सुधारका लागि निकास दिन आग्रह गर्ने निर्णय गरेको थियो ।
सत्ता गठबन्धनमा भाग खोजेको भन्दै चर्को आलोचना खेप्दै आएका प्रधानन्यायाधीश जबरामाथि राजीनामाको दबाब बढेको छ। पूर्व न्यायाधीश फोरम, चार पूर्व प्रधानन्यायाधीश, सर्वोच्च बार एसोसिएसन लगायतले जबराको राजीनामा नै अन्तिम विकल्प भएको बताएका छन्।