Logo
४ आश्विन २०८१, शुक्रबार
(October 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अविरल वर्षाले धानबालीमा ८ अर्ब २६ करोडको क्षति, हेर्नुहोस कहाँ कतिको नोक्सानी भयो ?

मनसुन बाहिरिएपछि भएको अविरल वर्षाले धानबालीमा ८ अर्ब २६ करोड ८० लाख क्षति पुर्‍याएको छ।

असोज ३१ देखि परेको निरन्तरको वर्षाले देशभर ३ लाख २५ हजार २५८ मेट्रिन टन धान नष्ट भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार २१ जिल्लामा वर्षाले धानबालीमा बढी क्षति पुर्‍याएको छ।

सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेशमा भएको छ भने बागमतीमा कम क्षति भएको छ। लुम्बिनीका चार जिल्ला बर्दिया, कपिलवस्तु, बाँके र रुपेन्देहीमा मात्रै ४ अर्ब ५१ करोडको धान वर्षाले नष्ट गरेको मन्त्रालयले जानकारी दिएको छ। लुम्बिनीमा १ लाख ६१ हजार २२३ मेट्रिक टन धान नष्ट भएको छ।

सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा ६८ हजार ४ सय मेट्रिक टन काटिएको धान वर्षाले नष्ट गरेको छ। उक्त प्रदेशमा वर्षाले १ अर्ब ९१ करोडको क्षति पुर्‍याएको छ। प्रदेश १ मा २८ हजार ४६९ मेट्रिक टन धान क्षति हुँदा किसानको ८० करोड गुमेको छ।

प्रदेश २ का सप्तरी, सिरहा र सर्लाहीमा ५६ करोड बराबरको धानमा क्षति पुगेको छ। २० हजार ३५० मेट्रिक टन धान वर्षाले नष्ट भएको छ।

गण्डकीका स्याङ्जा, कास्की र पूर्वी नवलपरासीमा सबैभन्दा बढी वर्षाले असर पुर्‍याएको छ। गण्डकी प्रदेशमा १३ करोड बराबरको धान नष्ट भएको मन्त्रालयले जानकारी दिएको छ। गण्डकीमा ४ हजार ५३० मेट्रिक टन धान नष्ट भएको छ।

कर्णालीको डोल्पा, जुम्ला, सल्यान र सुर्खेतमा ४० हजार २१९ मेट्रिक टन धानमा क्षति पुग्दा किसानले ३० करोड रुपैयाँ बराबरको क्षति बेहोर्नु परेको छ।

वर्षाले सबैभन्दा कम क्षति बागमतीमा पुर्‍याएको मन्त्रालयले जानकारी दिएको छ। बागमती प्रदेशका चितवन र नुवाकोटमा काटिएको धान नष्ट हुँदा ५ करोड ८० लाख क्षति भएको छ। बागमतीमा २ हजार ६८ मेट्रिक टन धानमा क्षति पुगेको छ।

प्रकाशित मिति: Oct 25, 2021

प्रतिक्रिया दिनुहोस्