१४ न्यायाधीशले बहिष्कार गरेपछि जबराले बोलाएको सर्वोच्चको फुलकोर्ट अनिश्चित
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको सर्वोच्च अदालतको फुलकोर्ट बैठक अनिश्चत भएको छ ।
सर्वोच्चका १४ जना न्यायाधीशले बहिष्कार गरेपछि जवराले सोमबार १ बजेका लागि बोलाएको सर्वोच्च अदालतको फुलकोर्ट बैठक अनिश्चित बनेको हो ।
प्रधानन्यायाधीश जवराले कार्यपालिकामा भागबन्डा खोजेको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेको लगायतका आरोप असन्तुष्ट न्यायाधीशहरूले लगाएका छन् ।
प्रधानन्यायाधीश जबराले आफ्नो कार्यक्षमता र न्यायालयका विषयमा उठेका सबै विषय फुलकोर्टमै छलफल हुने बताएका थिए ।
तर, १४ जना न्यायाधीशले बहिष्कार गरेकाले फुलकोर्ट बस्न नसकेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।
अहिले १४ न्यायाधीशको छुट्टै बैठक बसिरहेको स्रोतले जनाएको छ । बैठकले अब कसरी अघि बढ्ने भन्ने निर्णय लिने बुझिएको छ ।
यस्तै, प्रधानन्यायाधीश जबराको कार्यक्षमता र योग्यताका विषयमा छलफल गर्न नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनको बैठक पनि बसिरहेको छ ।