उद्योगमन्त्री गजेन्द्र हमालको राजीनामा प्रधानमन्त्रीद्वारा स्वीकृत
प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त उद्योगमन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत गरेका छन् ।
हमालले आइतबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई राजीनामापत्र बुझाएका थिए । हमालले राजीनामा दिएसँगै देउवाले राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा दिएका हुन् ।
राजीनमा पत्रमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यू म लामो समयदेखि कांग्रेसको विभिन्न पदहरुमा सक्रिय रही बाँके जिल्लाको पार्टी सभापति समेत भएर काम गरेकाले पार्टीले सोही अनुसार मुल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु’, हमालले राजीनामा पत्रमा भनेका छन्, ‘हाल विभिन्न संचारमाध्यमहरुले सम्प्रेषित समाचार तथा कानुनविद्हरुले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार सम्प्रेषित गरेको र यस्ता समाचारले आफ्नो वर्षौंसम्म लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायहरूबीच शक्ति पृथकीकरणको सिद्धान्तको लागि लडेको लडाइँको समेत अवमूल्यन भएको बोध भएको छ । तर पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकैबीच मन्त्रीपदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजीनामा दिएको छु ।’
विभिन्न संचार माध्यममा आएका समाचार र कानुनविद्हरुले प्रश्न उठाएपछि पदबाट राजीनामा गरेको हमालले बताएका छन् । हमाल २०२७ सालदेखि कांग्रेसको विभिन्न पदहरुमा बसेर काम गरिसकेका व्यक्ति हुन् ।