विकासशील देशलाई थप ५० करोड फाइजर खोप सहयोग गर्ने राष्ट्रपति बाइडेनको घोषणा
अमेरिकाका राष्ट्रपति जो बाइडेनले विकासशील देशहरूलाई कोरोना भाइरसविरुद्धको फाइजर खोपको थप ५० करोड मात्रा सहयोग गर्ने घोषणा गरेका छन् ।
राष्ट्रपति बाइडेनले विकासशील मुलुकहरूलाई अर्को वर्षबाट थप ५० करोड फाइजर खोप बाँड्ने घोषणा गरेका हुन् । संयुक्त राष्ट्रसंघको महासभाको समय पारेर आयोजना गरिएको एउटा भर्चुअल कोभिड-१९ सम्मेलनमा राष्ट्रपति बाइडेनले यस्तो घोषणा गरेका हुन्।
विज्ञहरूका अनुसार विश्वको ७० प्रतिशत जनसंख्यालाई खोप दिनका लागि ११ अर्ब मात्रा खोप आवश्यक पर्नेछ । विश्व स्वास्थ्य संगठनले सन् २०२१ भित्रै हरेक देशमा कम्तीमा ४० प्रतिशतले खोप लगाउने लक्ष्य राखेको छ । तर त्यस्तो लक्ष्य भेटिने सम्भावना कम रहेको बताइन्छ ।
बाइडेनले खोप वितरणका व्यवस्थापकिय चुनौतिलाई सम्बोधन गर्न समेत थप रकमको घोषणा गरेका छन् । धनी देशहरूले आफ्ना आधाभन्दा धेरै नागरिकलाई कम्तीमा एक मात्रा खोप दिएको अक्सफर्ड विश्वविद्यालयको तथ्यांकले देखाउँछ।
तर न्यून आय भएका गरिब देशमा २ प्रतिशतले मात्र पहिलो मात्रा खोप लगाउन पाएका छन् । अमेरिकाले यसअघि नै कम आय भएका देशहरूलाई ५८ करोड मात्रा खोप उपलब्ध गराउने वाचा गरेको थियो ।]
त्यसमध्ये १६ करोड मात्रा खोप विभिन्न देशमा पुगेको छ। अहिले बाइडेनले थप ५० करोड मात्रा उपलब्ध गराउने घोषणा गरेका हुन् । धनी देशहरूले चाहिनेभन्दा धेरै खोप सञ्चय गरेको र तिमध्येका केही खोप काम नलाग्ने हुन सक्ने चिन्ता विज्ञहहरूले गरिरहेका बेला अमेरिकाले विकाशशील देशहरूलाई थप खोप वितरण गर्ने घोषणा गरेको हो ।