सार्कका परराष्ट्रमन्त्रीहरुको साइडलाइन वार्ता रद्द
संयुक्त राष्ट्रसंघको महासभा बैठकको क्रममा यो वर्ष दक्षिण एसियाली सहयोग संगठन (सार्क) का परराष्ट्रमन्त्रीहरुको साइडलाइन वार्ता नहुने भएको छ ।
वार्तामा अफगानिस्तानको प्रतिनिधित्वको विषयमा सदस्य मुलुकहरुबीच कुरा नमिल्दा बैठक नहुने भएको हो । सेप्टेम्बर २५ मा वार्ताको मिति तय भएपनि अहिलेलाई रद्ध गरिएको आयोजक मुलुक नेपालले अन्य मुलुकलाई जानकारी गराएको छ ।
काठमाडौंस्थित सार्क सचिवालयले सबै मुलुकलाई बैठक रद्ध गरिएको जानकारी गराइसकेको स्रोतले बतायो ।हरेक वर्ष हुने सो बैठकमा सार्कमा विद्यमान चुनौती र सहकार्यमा केन्द्रित हुने गरेको थियो ।
यस अगाडि भारत र पाकिस्तानको तनावको कारण कमजोर बनेको सार्कमा अब अफगानिस्तानको समस्या पनि थपिएको छ ।