दुई महिनापछि आज गण्डकी प्रदेश सभा बैठक
गण्डकी प्रदेश सभा बैठक आज दिउँसो १ बजे बस्दै छ । असार ३० गते मार्शल लगाएर बजेट पारित गरेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बैठक दुई महिनापछि आज बस्न लागेको छ ।
आजको बैठकमा सबै दलको तर्फबाट भनाइ राख्ने र मुख्यमन्त्री पोखरेलले त्यसको जवाफ दिने कार्यसूची रहेको छ । बैठकमा आमसञ्चार विधेयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक, प्राइभेट फर्म दर्तासम्बन्धी विधेयक र बालबालिकासम्बन्धी विधेयक प्रस्तुत हुने संसद् सचिवालयले जानकारी गराएको छ ।
बजेटप्रति असहमतिका कारण प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधकाबीच बजेट पारित भए पनि फेरि बैठक बस्न सकेको थिएन ।
पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारले ल्याएको बजेटका योजना काटिएको, अघिल्लो सरकारका महत्त्वपूर्ण योजनालाई कम प्राथमिकतामा नराखिएको लगायतको विमति राख्दै त्यो नसच्याएसम्म फेरि बैठक चल्न नदिने एमालेले अडान लिँदै आएको थियो ।