अफगानिस्तानको काबुल विमानस्थलबाहिर विस्फोट हुँदा ६० भन्दा बढीको मृत्यु
अफगानिस्तानको राजधानी काबुलमा भएको जिहादी आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मीसहित ६० भन्दा बढीको मृत्यु भएको छ ।
उक्त आक्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकाले गरिरहेको हवाई उद्धारकार्य जारी नै रहने बताएका छन् । ‘हामीले यो मिसन सम्पन्न गर्नै पर्छ र हामी गर्नेछौँ,’ उनले भने । उनले अपराधीहरूलाई खोजेरै छाड्ने वाचा पनि गरे ।
अगस्ट १५ तारिखमा तालिबानले आफ्नो नियन्त्रणमा लिएको काबुलबाट हालसम्म १००,००० भन्दा बढीलाई अन्यत्रै लगिएको छ । तर अगस्ट ३१ तारिखमा अमेरिकी फौज फर्कनु अघि नै त्यहाँबाट बाहिरिनका लागि कैयौँ अफगानहरू विमानस्थल पुगिरहेका छन् । बाइडनले मिसन सम्पन्न गर्ने वाचा गर्दै भने, ‘हामी आतङ्कवादीहरूसँग डराउने छैनौँ ।’
बिहीबार आक्रमण हुँदा अफगानिस्तानमा साँझको झन्डै ६ बजेको थियो । सुरुमा विमानस्थलको एउटा प्रवेशद्वारमा आक्रमण गरिएको थियो जहाँ अमेरिकी र ब्रिटिश सेनाले मानिसहरूलाई विमानस्थल जानका लागि आवश्यक प्रक्रियाहरू पूरा गर्दै थिए । त्यसको केही समय पछि गोली चलेको आवाज आयो ।
केही मिनेटको अन्तरालमा ब्रिटिस अधिकारीहरूले प्रयोग गरेको एउटा होटेलमा पनि विस्फोटन भयो । अमेरिका र यूकेले काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आइएसआइएसले आत्मघाती हमला गर्नसक्ने भन्दै पहिले नै चेतावनी दिएको भए पनि उद्धारका लागि आएका विमानमा स्थान पाउने आशामा विमानस्थल आसपासको क्षेत्रमा ठूलो भिड जम्मा भएको थियो ।
उक्त जिहादी समूहले हमलाको जिम्मेवारी लिएको छ । राष्ट्रपति बाइडनले भने९ ‘हामी माफ गर्ने छैनौँ । हामीले बिर्सने छैनौँ । हामी तिमीहरूलाई खोजेरै छाड्ने छौँ र सजाय दिने छौँ ।’
विस्फोटमा थुप्रै तालिबान सुरक्षा गार्डहरू पनि घाइते भएको बताइएको छ । हमला हुनसक्ने भन्दै क्यानडासहित कैयौँ युरोपेली मुलुकले काबुल विमानस्थलबाट गर्दै आएको उद्धार कार्य रोकेकै दिन विस्फोटको घटना भएको हो ।