चन्द्र ढकालले दिए नेपाल धितोपत्र बोर्डको सदस्यबाट राजीनामा
नेपाल धितोपत्र बोर्ड (सेबोन) को सदस्यबाट चन्द्र ढकालले राजीनामा दिएका छन् ।आज बुधबारकै मितिबाट लागू हुने गरी उनले राजीनामा दिएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकाल महासंघको प्रतिनिधित्व गर्दै बोर्डको सदस्य बनेका थिए । आफूले महासंघमार्फत नै धितोपत्र बोर्डबाट राजीनामा दिएको ढकालले बताए ।
ढकालले आफू उक्त पदमा बस्न नचाहेको भन्दै महासंघ अध्यक्ष शेखर गोल्छालाई पत्र लेखेको जानकारी दिइएको छ । महासंघको तर्फबाट अर्को व्यक्ति पठाउन उनले अध्यक्ष गोल्छालाई आग्रह गरेका छन्।
नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हिजो मात्रै राजीनामा दिएका थिए । साउद सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिएका थिए । उक्त प्रकरणमा ढकालको नाम पनि जोडिएको थियो ।
ढकाल नै सञ्चालक रहेका बेला भाइले शेयर किनेको भन्दै बिवाद भएको थियो । यस विषयमा महासंघले विज्ञप्ति नै निकालेर सञ्चालक हुनुभन्दा अगावै कानूनअनुसार शेयर किनिएको प्रष्टीकरण दिएको थियो ।
सर्वोत्तम सिमेन्टको सेयर किनेको विषयमा बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका सीईओ साउदसँगै ढकाल समेत विवादमा तानिएका थिए ।