झापामा ८ महिने बालिकासहित एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा मृत फेला
प्रदेश नं १ स्थित झापाको कनकाई नगरपालिकामा आठ महिनाकी बालिकासहित एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
कनकाई नगरपालिका-१ रमाइलो टोलमा आठ महिनाकी बालिकासहित एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा आज मृत फेला परेका हुन् ।
मृत्यु हुनेमा ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना र आठ महिने छोरी रुविना रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
उनीहरुलाई आफ्नै घरभित्र आज बिहान झुण्डिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । मुनाले आठ महिने छोरीलाई छातीमा टाँसेर बर्कीले बाँधेर झुण्डिएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।
मृतक रवीन वैदेशिक रोजगारीमा जानका लागि केही दिन पहिले काठमाडौँसम्म गएको तर कोरोना पोजेटिभ देखिएका कारण फर्किएर आएको स्थानीयवासीले बताएका छन् ।
मुचुल्का उठाएर ढोका फोडेर भित्र पस्ने र घटना प्रकृति हेरेर थप अनुसन्धान गर्ने प्रहरीले बताए ।आत्महत्या गर्नुपर्ने कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयवासीका अनुसार रवीन वैदेशिक रोजगारमा स्थानीय युवालाई पठाउने एजेन्टका रुपमा काम गर्दै आएका थिए । घटनास्थलमा प्रहरीको टोली पुगेको र सेनाको टोलीलाई पनि बोलाइएको प्रहरीले जनाएको छ ।