Logo
४ आश्विन २०८१, शुक्रबार
(August 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादीको कार्यकर्ता नबन्न सभामुखलाई एमाले अध्यक्ष ओलीको चेतावनी

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले कारवाही गरेका १४ जनालाई निस्कासन गरेको सूचना नटाँसेको भन्दै सभामुख अग्नी सापकोटाविरुद्ध आक्रोश पोखेका छन् ।

सभामुखको रूपमा निष्पक्ष भूमिका निर्वाह गर्न नसके पद छोड्न उनले चेतावनी दिए ।

आज एक अन्तर्वार्तामा ओलीले सभामुख माओवादीको कार्यकर्ताका रूपमा प्रस्तुत भएको आरोपसमेत लगाएका छन् ।

उनले भने, ‘हिजो टोपबहादुर रायमाझीहरूलाई पुष्पकमल दाहालले निष्कासन गर्दा तत्काल संसदमा सुनाउनुभएको थियो । अहिले तीन दिनदेखि के हेरेर बसिरहनुभएको छ ? एमालेले आफ्ना सांसदहरू हटाएको सूचना किन टाँस्नुहुन्न ?’

पार्टीले कारवाही गरेपछि २४ घन्टाभित्रै सभामुखले सूचना टाँस्नुपर्ने परम्परा रहेको ओलीले बताए । सभामुखले न्यायाधीशले जस्तो छानविन र फैसला गर्नु नपर्ने उनको भनाइ छ ।

‘कागजपत्र झिकाउँछु, हेर्छु भनेको सुनियो । सभामुख न्यायाधीश हो र ? सभामुखले छानविन, फैसला हेर्ने होइन नि । निष्कासन गरेको सूचना टाँसिदिने हो । सदन चलेको भए संसदमा सुनाउने, होइन भने सूचना टाँस गर्ने काम हो । सभामुख न्यायाधीश पल्टिने हो ? माओवादी कार्यकर्ता भएर एमालेविरुद्ध काम गर्ने हो ? एमाले फुटाउने षड्यन्त्रमा सामेल हुने हो ? केलाई पर्खिरहनुभएको छ उहाँ ?’ उनले प्रश्न गरे ।

‘उहाँले ठान्नुभएको होला उहाँले नसुनाएसम्म पद कायम रहन्छ । अग्नी सापकोटाजीलाई म सोध्न चाहन्छु संसद चलाउनु छ कि छैन ? सभामुख हुनु छ कि छैन ? पार्टी कार्यकर्ता भएर सभामुख बन्न सकिन्न । होइन भने छोडिदिए हुन्छ । निष्पक्ष बन्नु छैन भने सभामुख छोडिदिनुस् । कार्यकर्ता भइरहने हो भने सभामुख हुन सकिँदैन । उहाँले रोज्नुपर्छ ।’

सभामुख सापकोटाले अटेरी, जिद्दी, असंसदीय खालका क्रियाकलाप बारम्बार देखाएको ओलीले बताए ।

प्रकाशित मिति: Aug 19, 2021

प्रतिक्रिया दिनुहोस्