तालिबानले देश कब्जा गरेसँगै ७५० अफगान सैनिक भागेर उज्बेकिस्तान पुगे
तालिबानले अफगानिस्तान कब्जा गरेसँगै ७५० जना अफगान सैनिक भागेर उज्बेकिस्तान पुगेका छन् ।
४८ घण्टाको अवधिमामा ६०० जना अफगान सैन्य विमानमार्फत् उज्बेकिस्तान पुगेको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् । यस्तै उज्बेकिस्तानले अफगानिस्तानका सैनिक चढेको एक विमानलाई खसालिदिएको छ ।
सीमा पार गर्न खोजेकाले हवाई प्रतिरक्षा बलले सो सैन्य विमानलाई खसालिदिएको उज्बेकिस्तानको रक्षा मन्त्रालयले जानकारी दिएको हो ।
उक्त विमानमा कति जना चढेका थिए र कोही जीवित छन् कि छैनन् भन्ने खुलेको छैन । यद्यपि समाचार संस्था एएफपीले सेनाको पोशाक लगाएका दुई जना अस्पतालमा भर्ना भएको एक चिकित्सकलाई उद्धृत गर्दै लेखेको छ ।
उज्बेकिस्तान प्रशासनका अनुसार दक्षिणी शहर तेरमेजमा ४६ सैन्य विमान अवतरण गरेका छन् ।यी विमानलाई स्कर्टिङ गरेको एक अफगान विमान र उज्बेक लडाकु विमान आपसमा ठोक्किएको दाबी उज्बेकिस्तानको प्रोसिक्युटर जनरलको कार्यालयले जनाएको छ ।
दुबै विमानका पाइलट भने जोगिएका छन् ।अफगानिस्तानको राजधानी काबुल तालिबानले नियन्त्रणमा लिएसँगै त्यहाँ अस्थिरता बढेको छ ।
काबुल छाड्न चाहनेहरुको विमानस्थलमा भिडभाड रहेको छ । अमेरिकी एयरफोर्सको एक विमानसँगसँगै रनवेमा मानिसहरु दौडिरहेको र सो विमान उडेपछि केही मानिसहरु खसेको भिडियो सार्वजनिक सोमबार भएको थियो ।
अहिले मानिसहरुमा एक प्रकारको डर देखिएको छ । तर तालिवानले भने सर्वसाधरणलाई केही नगर्ने र उनीहरुको सुरक्षा गर्ने बताएको छ ।