राष्ट्रपति कार्यालय कब्जा गरेसँगै अफगानिस्तानमा युद्ध सकिएको तालिबानको घोषणा
अफगानिस्तामा राष्ट्रपति कार्यालय कब्जा गरेपछि तालिवानले देशमा युद्ध समाप्त भएको घोषणा गरेको छ । तालिबान लडाकुहरु राष्ट्रपति कार्यालयमा प्रवेश गरेसँगै विजयको घोषणा गरेका हुन् ।
अल जजिरा टेलिभिजनसँग कुरा गर्दै अफगानिस्तानका जनताको मुक्ति आन्दोलन सफल भएको र आफूहरुले चाहेको जित पनि हासिल भएको तालिवान नेताले बताएका हुन ।
अलजजिरा न्यूज नेटवर्कको एक भिडियो फुटेजमा तालिबान लडाकुहरुको ठूलो समूह राष्ट्रपति भवनको भित्र देखिन्छ । अर्को एउटा फोटोमा उनीहरु हतियारसहित राष्ट्रपति बस्ने कुर्सिमा बसेको देखिन्छ ।
तालिबानका एक प्रवक्ताले अलजजिरासँग भनेका छन्, ‘अफगानिस्तानमा युद्ध सकिएको छ । हाम्रो देशको मुक्ति र हाम्रा जनताको स्वतन्त्रता हामीले प्राप्त गरेका छौं ।’
विद्रोहमार्फत २० वर्षपछि पुनः सत्तामा पुगेको तालिबानले आज ‘इस्लामिक एमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
तालिबान समूह आइतबार राजधानी काबुल प्रवेश गरेलगत्तै राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । उपराष्ट्रपतिले पनि देश छाडेको हल्ला चले पनि उनले आफूले काबुलमात्र छाडेको र अफगानिस्तानमै रहेको बताएका छन् ।
घानी काजकिस्तान गएको बताइए पनि उनी उज्वेकिस्तान पुगेको विवरण अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले दिएका छन् । यसैबीच, राजधानी काबुलमा तालिबानको पूर्ण पकड भएपछि अमेरिकाले काबुल अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट आफ्नो अस्थायी दूतवास चलाएको छ ।
दूतावासका कर्मचारीलाई हेलिकप्टरबाट विमानस्थल पुर्याएर त्यहीं अमेरिकी झण्डा राखेर काम गरिएको जनाइएको छ । केही हजार अमेरिकी सेना पनि विमानस्थलमै रहेकाले काबुल विमानस्थल अझैसम्म अमेरिकाको नियन्त्रणमै रहेको अनुमान गरिएको छ ।