Logo
४ आश्विन २०८१, शुक्रबार
(August 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानसेनापति पूर्णचन्द्र थापाको अवकाससँगै प्रभुराम शर्माले सेनाको कमाण्ड हाक्न थाले

प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृतरथी प्रभुराम शर्मालाई संगठनको कमाण्ड हस्तान्तरण गरेका छन् । सैनिक मुख्यालय जंगी अड्डामा सोमबार आयोजित कार्यक्रमा प्रधानसेनापति थापाले बलाधिकृतरथी शर्मालाई नेपाली सेनाको कमाण्ड बुझ–बुझारथ गरेका हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मंगलबारदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोकिसकेकी छन् । सेनाको परम्पराअनुरुप प्रधानसेनापति थापा आफ्नो तीनवर्षे कार्यकाल सकिनु एक महिनाअघि अर्थात् मंगलबारदेखि घर बिदामा रहने भएकाले सेनाको कमाण्ड शर्मालाई हस्तान्तरण गरिएको हो ।

कायममुकायम जिम्मेवारी तोकिएका शर्माले आगामी भदौ २५ गतेदेखि नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिका रुपमा सैनिक नेतृत्व सम्हाल्नेछन् ।

स्वदेशमा सबै व्यावसायिक तालिमप्राप्त बलाधिकृतरथी शर्माले भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतंकवाद तथा सुरक्षा, थाइल्याण्ड र पाकिस्तानबाट प्रतिरक्षा एवं बंगलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालिम लिएका छन्।

सेनाको अप्रेरेसन योजना निर्माण र कार्यान्वयन गर्ने युद्धकार्य महानिर्देशक, बलाधिकृत र बलाध्यक्ष दुवैको जिम्मेवारीमा रहनुभएका शर्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी समसामयिक समस्या तथा चुनौतीबारे पूर्ण जानकार रहेका छन् ।

आफ्नो ३७ वर्षे लामो सैनिक सेवाका क्रममा गुल्म, गण, बाहिनी, पृतनालगायत जंगी अड्डास्थित सैनिक सचिव, भर्ना छनोट निर्देशक, नीति तथा योजना निर्देशक, सहबलाध्यक्ष, सम्भाररथीको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेका कायममुकायम प्रधानसेनापति शर्मालाई नेपाली सेनाको हरेक जिम्मेवारीका बारेमा नजिकबाट अनुभव र ज्ञान छ ।

संयुक्त राष्ट्र संघको शान्ति मिसनअन्तर्गत पूर्वी टिमोरमा गुल्म र कंगोमा गणको अन्तर्राष्ट्रिय कमाण्ड गर्ने अवसर प्राप्त गरेका शर्मा भारतमा सम्पन्न भएको नेपाल–भारत द्विपक्षीय सल्लाहकार समूहको भेलामा समेत सहभागी भएका थिए ।

बंगलादेशमा सैनिक सहचारीको कार्यभार उदाहरणीय रुपमा सम्हालिसकेका कारण उनको कार्यकालमा सेनाको सैनिक कूटनीतिमा उल्लेखनीय परिणाम आउने अपेक्षा गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा एमए र भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनीतिकशास्त्रमा एमफिल गरेका कारण शर्माले नेपालको मात्र नभएर विश्वको इतिहासलगायत राष्ट्रिय प्रतिरक्षा सम्बन्धमा गहन अध्ययनसमेत गरेका छन् ।

प्रकाशित मिति: Aug 9, 2021

प्रतिक्रिया दिनुहोस्