Logo
४ आश्विन २०८१, शुक्रबार
(July 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपा केन्द्रीय कार्यकारिणी सदस्यलाई सनाखतका लागि निर्वाचन आयोगले बोलायो

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादमा सुनुवाइ गरिरहेको निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी सदस्यलाई सनाखतका लागि बोलाएको छ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले ११ साउनमा ‘दल एकीकृत हुँदाका बखत सनाखत गरेका केन्द्रीय कार्यकारिणी सदस्यलाई स्वयम् उपस्थित हुन’ आदेश भएको बताए।

जसपाको केन्द्रीय कार्यकारिणी सदस्यहरू सक्कल नागरिकता वा मतदाता परिचय पत्रसहित उपस्थित हुनुपर्नेछ। उनीहरूले निर्वाचन आयोगमा गएर आफूहरू ‘कुन पक्षमा छौं’ भन्ने खुलाउनुपर्नेछ।

जसपामा उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र महन्थ ठाकुर–राजेन्द्र महतो पक्षबीच पार्टी आधिकारिकताको विवाद छ। दुवै समूहले निर्वाचन आयोगमा आफूहरूलाई आधिकारिकता दिन माग गरिरहेका छन्। आयोगले आपसमा सहमति गर्न दिएको समयसम्म सहमति नभएपछि इजलास बसेर ट्ंग्याउन लागेको हो। त्यही क्रममा आज आयुक्तहरूको इजलासले दल एकीकृत हुँदाका बखतका केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई झिकाएको छ।

दुवै पक्षले एक अर्कालाई कारबाही गर्दै पार्टीको केन्द्रीय कार्यकारिणी सदस्यको संख्या थपघट गर्दै आएका थिए। तर, आयोगले भने तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टीबीच एकीकरण हुँदा कायम रहेका सदस्यलाई मात्रै मान्यता दिने भएको हो।

केन्द्रीय कार्यकारिणी सदस्यहरू आयोगमा उपस्थित भएर आफ्नो समर्थन कुन समूहलाई छ भन्ने खुलाएपछि बहुमत पुग्ने समूहलाई आयोगले मान्यता दिनेछ।

प्रकाशित मिति: Jul 22, 2021

प्रतिक्रिया दिनुहोस्