Logo
८ मंसिर २०८१, शनिबार
(July 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडी आफ्नो माग पूरा गर्न गोर्खाहरूले थाले रिले अनशन

बेलायतमा पटक-पटकको आग्रहमा पनि आफ्ना माग पूरा नगरेको भन्दै गोर्खाहरूले रिले अनशन सुरु गरेका छन् ।

बुधवार दिउँसो १ बजेदेखि गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटमा अनशन थालिएको छ।

बेलायत सरकार र नेपाल सरकारलाई पटक–पटक आफ्ना मागको सुनुवाइका लागि विभिन्न चरणमा र विभिन्न माध्यमबाट आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्यात्मक परिस्थितिले अनशन बस्न परेको अभियानकर्मी ज्ञानराज राईले बताए ।

बुधवारदेखि १३ दिनसम्म लगातार अनशन बस्ने र हरेक दिन एक एक जना अनशन बस्ने योजना रहेको राईले बताए । सत्याग्रह समितिका प्रमुख कृष्णबहादुर राईका अनुसार यो १३ दिनभित्र बेलायती सरकारले वार्ताका लागि कुनै पहल गरेन भने त्यसपछि भोक हड्तालमा बस्ने योजना रहेको बताए ।

गत महिना गोर्खाहरूका मागसँग सरोकार राख्ने पाँच वटा संस्था र गैरआवसीय नेपाली सङ्घ युकेलगायतले नेपाल सरकार र बेलायत सरकार दुवैलाई पत्र पठाएको थियो । पत्रमा भूपू गोर्खाहरूको समान पेन्सनलगायतका माग राखेर वार्ताका लागि आग्रह गरिएको थियो ।

यो पटक १३ बुँदे मागसहित आन्दोलनमा रहेका गोर्खाहरूको उक्त अनशनलाई गोर्खा हकहितका लागि काम गर्दै आइरहेको गेसो नामक संस्थाले भने साथ दिएको छैन ।

नेपाल सरकार र बेलायत सरकारलाई आफ्ना माग पुर्‍याइसकिएको र बेलायतजस्तो ठाउँमा अनशनजस्तो गतिविधि गर्नुले समस्या समाधानभन्दा पनि थप जटिल हुने गेसो संस्थाका सभापति कृष्णकुमार राईले बताए ।

प्रकाशित मिति: Jul 22, 2021

प्रतिक्रिया दिनुहोस्