Logo
३० कार्तिक २०८१, शुक्रबार
(July 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली सरकारका राम्रा कामलाई निरन्तरता दिन्छु भन्दै देउवाले मागे विश्वासको मत !

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले साढे ३ वर्षबीचमा गरेका राम्रा कामलाई निरन्तरता दिने बताएका छन्। उनले रहेका कमी कमजोरी सुधार्दै जानुपर्ने पनि उल्लेख गरेका छन्।

दोस्रो पटक पुन:स्थापित भएको प्रतिनिधिसभाको पहिलो दिनको दोस्रो बैठकमा विश्वासको मत माग्दै उनले यस्तो बताएका हुन्। देउवाले ओली नेतृत्वको सरकारका राम्रा कामहरूलाई निरन्तरता दिने पनि प्रतिवद्धता जनाएका छन्।

‘विगतमा भएका राम्रा कामको निरन्तरता दिँदै कमी कमजोरी सुधार्दै जानुपर्ने छ,’ प्रधानमन्त्री देउवाले भने, ‘साढे तीन वर्ष सरकारको नेतृत्व गर्नु भएका केपी शर्मा ओलीजीलाई पनि म धन्यवाद दिन चाहन्छु।’

उनले मुलुकमा सुशासन कायम गर्नका लागि सरकार, प्रमुख प्रतिपक्षी लगायतबीचमा निरन्तर संवाद, सहकार्य र सामुहिक प्रयत्न आवश्यक हुनेमा पनि जोड दिएका छन्।

उनले देशमा सुशासन कायम गर्नुपर्नेमा पनि जोड दिएका छन्। ‘देशमा सुशासन कायम गर्नुछ। यसका लागि सरकार, प्रमुख प्रतिपक्षी, सबै राजनीतिक दलहरुबीच निरन्तर संवाद, सहकार्य र सामुहिक प्रयत्न आवश्यक हुन्छ,’ देउवाले भने, ‘यसका लागि म सदैव प्रयत्नशील रहने छु।’

प्रधानमन्त्री देउवाले राजनीतिक दलहरु एकअर्काका सत्रु नभएको पनि बताएका छन्। ‘हामी राजनीतिक दलहरु एकअर्काका सत्रु होइनौं,’ उनले भने, ‘हाम्रा साझा उदेश्य प्राप्तिका लागि सहयात्री हौं भन्ने भावनाका साथ काम गर्नुपर्नेछ।’

प्रकाशित मिति: Jul 18, 2021

प्रतिक्रिया दिनुहोस्