इतिहासमै पहिलो पटक सपथकै दिन राष्ट्रपती–प्रधानमन्त्री आमनेसामने
इतिहासमै पहिलो पटक सपथकै दिन राष्ट्रपती–प्रधानमन्त्री आमनेसामने भएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री नियुक्त भएको पत्र नसच्याउँदासम्म शपथ नलिने बताएका छन् । संविधानको धारा उल्लेख नभएसम्म शपथ नलिने सन्देश देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सन्देश पठाएका थिए ।
भण्डारीले पनि संविधानका धारा उल्लेख गरेर शपथ गराउन नसक्ने बताएकी छन् । सर्वोच्चले ७६(५) अनुसार देउवालाई शपथ गराउन परमादेश दिएको थियो ।
यही विवादका कारण ६ बजे हुने शपथ ग्रहण अहिलेसम्म हुन सकिरहेको छैन । देउवाले संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्रीमा नियुक्त गरेपछि कानुनविद्हरूसँग छलफल गरेका थिए । कानुनविद्हरूले संविधानको धारा उल्लेख गरेर मात्रै शपथ लिन सुझाएपछि त्यही अनुरुपको सन्देश राष्ट्रपतिसम्म पुर्याएका थिए ।
विवाद देखिएपछि समस्या समाधान गर्न सत्तारुढ दलका नेताहरू र राष्ट्रपति कार्यालयका कर्मचारीबीच छलफल भइरहेको त्यहाँ उपस्थित एक नेताले जानकारी दिए ।
यसले पहिलो दिनबाटै राष्ट्रपति-प्रधानमन्त्रीबीच द्वन्द्व बढ्ने देखिएको छ ।