मृत भेटिएकी सुजिताको शव भरतपुर अस्पताल ल्याइँदै, शव नजिक भेटियो विषादीको बट्टा र झोला
चितवनको राप्ती नगरपालिका नजिक जंगलमा मृत भेटिएकी सुजिता भण्डारीको शव आज भरतपुर अस्पताल ल्याइँदैछ ।
शव भेटिएको ब्रम्हस्थानी सामुदायिक वनको जंगलमा मुचुल्का गरी शव निकालेर अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
जंगलमा च्याउ टिप्न गएका स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । आइतबार साँझ शव भेटिएपछि रातभर प्रहरीले सुरक्षा दिएर शव राखेको थियो ।
अब शव भरतपुर अस्पतालको शव गृहमा राखेर अनुसन्धान गर्ने वा थप जाँचका लागि काठमाडौं पठाउने भन्ने बारेमा निर्णय गर्न बाँकी रहेको प्रहरी कार्यलयले बताएको छ ।
घटनास्थल नजिक धानमा हाल्ने विषादीको बट्टासमेत भेटिएको प्रहरीले जनाएको छ । त्यहाँ एउटा झोलासमेत भेटिएको र उनकी दिदीले झोलाको पनि पहिचान गरेको एसपी ओम अधिकारीले बताए । झोला र विषादीको सम्बन्धका बारेमासमेत अनुसन्धान भैरहेको उनको भनाइ छ।
असार ११ गते बिहान ६ बजे साथीको घर जान्छु भनेर निस्किएकी सुजिता आइतबार साँझ स्थानीय ब्रम्हस्थानी सामुदायिक वनमा मृत भेटिएकी हुन् ।
उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् । शव गलेको अवस्थामा फेला परेको छ ।
वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।घटनास्थल मृतक भण्डारीको घरबाट करीब पाँच किलोमिटर टाढा पर्छ।
युवती हराए लगत्तैदेखि केन्द्रीय अनुसन्धान ब्यूरोले घटनाबारे अनुसन्धान गरिरहेको चितवनका प्रमुख जिल्ला अधिकारीले बताए । उनले सुक्ष्म रुपमा त्रुटिरहित ढंगले सजगता अपनाउँदै प्रहरीले घटनाको अनुसन्धान गरिरहेको दाबी गरे ।