खेतमा भेटियो सुजिताको शवको अवशेष : प्रहरी भन्छन् -“उक्त काण्डमा दाईजो कारण देखिएन”
प्रदेश २ स्थित गत जेठ १९ गतेदेखि हराएकी भनिएका एक महिलाको शवको अवशेष आफ्नै खेतमा गाडिएको अवस्थामा फेला परेको छ।
महोत्तरीको लोहारपट्टी ७, भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको परिवारले नै हत्या गरेको माइती पक्षले आरोप लगाएको छ।
माइतीकै किटानी जाहेरीका आधारमा भएको खोजतलासमा प्रहरीले आइतबार शवको अवशेष भेटेको हो।
घरबाट एक किलोमिटर पर रहेको खेतमा खाल्डो खनी गाडिएको र नुनको प्याकेटहरु राखेर गलाईएको पाइएको छ।
प्रहरीका अनुसार शव पूरै गलेको छ। माइतीपक्षले बेपत्ता छोरीका देवर रुपेश ठाकुर, देवरानी रोमा ठाकुर, ससुरा पतिराम ठाकुरसहित परिवारजनले हत्या गरेर शव लुकाएको आरोप लगाएको छ।
सुजिताका पति भने सुस्त मनस्थितिका छन्। हाल पनि उनी श्रीमतीबारे बेखबर छन्।
सुजिताका दाजु शिवम पाण्डलेले भने, ‘एक-डेढ वर्ष पहिले पनि देवर रुपेशले बहिनीलाई ज्यान मार्ने धम्की दिएको थियो।
उनले भने -तकिया मुखमा कोचेर मार्न खोजेको थियो। उनी त्यतिबेला हातमा दाँतले टोकेर बाँचेकी थिइन्। तर, सधैँ एकनाश हुँदैन। आखिर पापीहरूले मेरो बहिनीको ज्यान लिएरै छाडे।’
गत जेठ १९ गते रुपेशले शिवमलाई फोन गरेर भनेका थिए, ‘तपाईंको बहिनी झै-झगडा गर्दैछ। तपाँईहरू आउनुस्, लिएर जानुस्।’ आउन लागेको बेला फेरि फोन आयो र भनियो, ‘आउनु पर्दैन, सबै कुरा मिलिसक्यो।’
त्यही दिनदेखि सुजिता बेपत्ता पारिइन् । सम्पर्कविहीन भएपछि माइती पक्ष बुझ्न जेठ २१ गते भ्रमरापुर गयो।
‘तपाईंको छोरी/बहिनी अर्कैसँग भागिसक्यो भनेर हामीलाई भने। हामीलाई विश्वास लागेन। बहिनीको कोठामा लगाइएको ताला फोडेर हेर्यौं।
त्यहाँ उनका सामान, लत्ताकपडा, गरहना सबै छँदै थिए’, उनले भने, ‘यसले झन् शंका बढायो। तर, हामीसँग खोज्नेबाहेक अन्य कुनै विकल्प पनि थिएन।’
सुजताका दाइ शिवमले चार वर्षीय भान्जा र भान्जीलाई केही हानी नोक्सानी पुर्याउँछन् भन्ने डर लागेर आफूसँगै लिएर गए।
गहभरि आँसु झार्दै पाण्डेले भने, ‘विस्तारै भान्जा र भान्जिबाट बुझ्दै जाँदा बहिनीलाई धारिलो हतियारले काटेर फ्रिजमा राखी खेतमा गाँडेको पोल खुल्दै गयो।’
उनीहरू किटानी जाहेरी लिएर प्रहरीमा गए। ‘तर, एसपी साबले जाहेरी लिन मान्नुभएन’, उनले भने।
अनुसन्धानका लागि दबाब दिँदै आएकी सामाजिक अभियन्ता गुञ्जा रायले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी लिएर दर्ता गराउन जाँदा यथेष्ठ प्रमाण नभएको भन्दै प्रहरीले जाहेरी लिन नमानेको सुनाइन्।
उनले भनिन्, ‘हामीले साढे चार वर्षको बालकको बयान, फोन कल रेकर्ड र मृतक सुजिताको देवर रुपेशको पटक-पटक कुरा फेर्ने प्रवृत्तिका कारण हामीलाई पहिल्यै शंका लागिराथ्यो कि सुजिताको हत्या भइसकेको छ।
तर, प्रहरीले अर्कैसँग भागेको अनुमानको आधारमा इलाका प्रहरी कार्यालय पिपरामा खोजबिन निवेदन दिन लगाएर घटनालाई अल्झाएको थियो।’
त्यही खोजतलासका क्रममा आइतबार प्रहरी गाउँ पुगेको थियो।
त्यस क्रममा खेत उत्खनन गर्दै जाँदा बोरामा केही शवका अवशेष, केशका रौंहरू, नुनका प्याकेटहरू र अन्य पदार्थहरू भेटिएको हो।
उक्त स्थानलाई शिल गरी थप अनुसन्धान भइरहेको एसपी दिनेशकुमार आचार्यले बताए। यता दाईजोका कारण हत्या भएको हल्ला चलाईएपनि त्यसमा दाईजोको कुनै कारण नरहेको उनले बताए ।
आचार्यले भने यसमा दाईजोको कुनै कारण पाईएन, कारण अर्कै छ । यद्यपि हामि अनुसन्धानकै क्रममा छौं ।