भोलि ७ वटै प्रदेश सरकारले बजेट ल्याउँदै, गण्डकीमा मुख्यमन्त्रीले नै प्रस्तुत गर्ने
भोलि ७ वटै प्रदेश सरकारले नयाँ बजेट ल्याउँदै छन् ।सोही क्रममा गण्डकी प्रदेशको बजेट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रस्तुत गर्ने भएका छन् ।
पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि बहुमत सदस्यको समर्थनमा गण्डकीमा नयाँ सरकार बनेको ४ दिनमात्र भएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारीसमेत आफैंले लिएका कारण मुख्यमन्त्री नेपाली पोखरेलले नै बजेट वाचन गर्ने भएका हुन् ।
संविधानत: प्रदेश सरकारले असार १ मै बजेट ल्याइसक्नुपर्ने दबाबका कारण सरकार गठन भएको छोटो समयावधि बीचमै नयाँ बजेट ल्याउनुपर्ने गण्डकी सरकारलाई चटारो परेको छ ।
गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले मुख्यमन्त्री पोखरेले नै प्रस्तुत गर्ने बताएका छन् । खड्काका अनुसार नयाँ बजेटमा कोरोना महामारी नियन्त्रण र विकास निर्माणले प्राथमिकता पाउँनेछ ।