पूर्वमुख्यमन्त्रीलाई पनि पूर्वप्रधानमन्त्रीजस्तै सुविधा दिनेबारे गण्डकीको मन्त्रिपरिषदमा सहमति
गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएपछि पहिलो चोटि बसेको मन्त्रीपरिषद् बैठकले पूर्वमुख्यमन्त्रीलाई पनि पूर्वप्रधानमन्त्रीजस्तै सुविधा दिनेबारे छलफल अघि बढाएको छ ।
यसबारे छलफल भएपनि निर्णय भने भइनसकेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिएका छन् । पूर्वमुख्यमन्त्रीको सम्मानमा सरकारले कुनै पनि कमि नगर्ने उनले बताए ।
खड्काले भने ‘पूर्वमुख्यमन्त्रीलाई सुविधा दिनेबारे कुनै व्यवस्था अहिलेसम्म गरिएको रहेनछ । संघमा पूर्वप्रधानमन्त्रीलाई जस्तै प्रदेशमा पनि पूर्वमुख्यमन्त्रीलाई अधिकतम सम्मान र सुविधा दिनुपर्छ भनेर हामीले छलफल गर्यौं, सामान्य समझदारी भए पनि निर्णय हुन बाँकी छ ।’
यसबारे एउटा नीति ल्याएर ऐन नबनाउञ्जेल मन्त्रिपरिषद्ले निर्णय गरेर केही व्यवस्था गरिने खड्काको भनाइ छ । प्रवक्ता खड्काले नवगठित सरकारले चाँडै विश्वासको मत लिने योजनामा रहेकोसमेत जानकारी दिए ।बजेट र नीति तथा कार्यक्रमबारे पनि निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग छलफल गरेर अघि बढ्ने सरकारका प्रवक्ता खड्काले बताए ।
जेठ ३१ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र असार १ गते बजेट ल्याउने बाध्यता गण्डकी सरकारलाई छ ।