मन्त्रिपरिषद् विस्तारविरुद्धका रिटमा आज सुनुवाइ हुँदै
सरकार गठन विरुद्धका रिटमा आज सुनुवाइ हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटमाथि आज सुनुवाइ हुने भएको हो ।
संसद विघटन गरी निर्वाचनको घोषणा गरेर कामचलाउ बनेको सरकारले संविधानविपरीत मन्त्रिपरिषद् विस्तार गरेको भन्दै परेका ६ वटा रिटमा आज सुनुवाइ हुने भएको हो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतले मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्च अदालतमा छट्टाछुट्टै रिट दायर गरेका थिए ।
आजको सुनुवाइले अन्तरिम आदेश जारी गरेमा हालै मन्त्री बनेकाहरुको पद गुम्नेछ । प्रधानमन्त्री ओलीले शुक्रबार जनता समाजवादी पार्टीको महन्थ ठाकुर-राजेन्द्र महतो समूहका १० र एमालेका दुई जनालाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका थिए ।
वरिष्ठ अधिवक्ता त्रिपाठीको रिटमा मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको कदम गैरसंवैधानिक, बदनियतपूर्ण र संविधानसँगको धोकाधडी भएको जिकिर गरिएको छ ।