Logo
२९ कार्तिक २०८१, बिहीबार
(June 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपप्रधानमन्त्री महतोको स्पष्टीकरण : नेपाल बहुल राष्ट्रिय राज्य हो, त्यसै अनुसारको संविधान बनाउनुपर्छ !

उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसै अनुसारको नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्ने बताएका छन् ।

शनिबार जनता समाजवादी पार्टी कार्यालय बबरमहलमा नवनियुक्त मन्त्रीहरूलाई स्वागत कार्यक्रमपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिदैँ महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअनुसार नियम, कानुन, संविधान र व्यवस्थामा हिमाल,पहाड, तराई र मधेशको जनताको सहभागिता हुनुपर्ने बताएका हुन् ।

बहुलताले भरिएको देशमा एकल जातीय राज्यको प्रभाव परेको भन्दै बहुलतामा लैजानुपर्ने उनले बताए । बहुल राज्य नभएसम्म जनताले अधिकार र पहिचानको निम्ति आन्दोलन गरिरहने उनले बताए ।

‘नेपाल विविधताले भरिएको देश हो । विभिन्‍न जाती, वर्ग, समुदाय, चार वर्ण छत्तिस जातको फुलबारी भनेको विविधता हो । बहुलता भनेको त्यही हो । त्यसैले बहुल राष्ट्रिय राज्य हो । नेपाल भनको बहुल राष्ट्रिय राज्य भएकोले त्यहाँ त्यो अनुसारको नियम, कानुन, संविधान, व्यवस्था, सहभागिता, हिमाल, पहाड, तराई, मधेशका जनताको हुनुपर्छ,’ महतोले भने, ‘विविधताले भरिएको देश, बहुलताले भरिएको देशमा एकल हुनै सक्दैन । बहुलता नै हुन्छ । बहुल भनेको कुनै एक जात, एक वर्ग, एक समुदाय होइन । बहुलता भनेको सबै हो । त्यसैले सबैको राज्य शासनमा प्रतिनिधित्व हुनुपर्छ । पहिचान हुनुपर्छ । र यो नभएसम्म देशमा जनताले आफ्नो अधिकार पहिचानका लागि संघर्ष गरिरहन्छ ।’

उनले संविधान अपूर्ण भएको भन्दै अधिकार र पहिचानको निम्ति जसपाले मिसन चलाउने पनि बताए । देशका सबैकुरा ठिकठाक नभएको भन्दै उनले नियम, कानुन, संविधान र शासनमा भएको कमिकमजोरीलाई संशोधन र सुधार गर्दै जानुपर्ने बताए ।

प्रकाशित मिति: Jun 5, 2021

प्रतिक्रिया दिनुहोस्