नेपालमा भएको राजनीतिक घटनाक्रम नेपालको आन्तरिक मामिला : भारत
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई छिमेकी देश भारतले आन्तरिक मामिला भनेको छ ।
प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन घोषणापछि विकसित राजनीतिक परिस्थितिबारे आफ्नो प्रतिक्रिया दिने क्रममा भारतले आन्तरिक मामिला भन्दै नेपाल आफैले हल गर्ने प्रतिक्रिया दिएको हो ।
नयाँ दिल्लीमा बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नेपालमा विकसित घटनाक्रमलाई भारतले नोट गरिरहेको र ती आन्तरिक मामिला भएको बताए ।
प्रवक्ता अरिन्दम बागचीले नेपाल आफ्नै लोकतान्त्रिक प्रक्रियाभित्रबाट समस्या समाधान गर्न सक्षम छ भन्ने भारतको विश्वास रहेको बताए ।
भारतले नेपालको शान्ति, समृद्धि र स्थायित्वको यात्रामा साथ दिने उनको भनाइ थियो ।
धेरैले भारतकै योजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला कदम चालेको भन्दै आलोचना गरिरहेका बेला भारतले त्यसलाई खण्डन गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो ।