Logo
२९ कार्तिक २०८१, बिहीबार
(April 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्पतालको बेडबाट सांसद शाही भन्छन् : सदनमा जाने तयारी गर्दा अचानक बिरामी भएको हुँ

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद खिमविक्रम शाहीले अविश्वासको प्रस्तावमा मतदान गर्न सदनमा जान तयारी हुँदा अचनाक बिरामी भई अस्पताल लैजाँदै गर्दा बेहोस भएको बताएका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै सांसद शाहीले सदनमा जाने तयारी अवस्थामा नै अचानक बिरामी भएपछि भाइलाई सम्पर्क गरेर उपचारका लागि अस्पताल लैजाँदै गर्दा बेहोस भएको बताएका हुन् ।

त्यस्तै शाहीले पार्टी निर्णयप्रति आफ्नो प्रतिबद्धता कायमै रहेको बताएका छन् । पोखराको चरक मेमोरियल अस्पतालमा उपचाररत उनले पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा आफ्नो पनि सहभागिता रहेका कारण ती निर्णयप्रति सहमति रहको जनाएका हुन् ।

उनले बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल र मतदान हुने दिन सदनमा जाने तयारी गरेको अवस्थामा अचानक बिरामी भएको विज्ञप्तीमा उल्लेख गरेका छन् । ‘मेरो आफ्नै भाइ (जुनविक्रम शाही) लाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा म बेहोस भएछु,’ विज्ञप्तीमा उनले भनेका छन्, ‘म अहिले उपचाररत छु । हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महसुस गरेको छु । म थप स्वस्थ भएपछि मेरो बारेमा उठेका कैयौं प्रश्नको बारेमा स्पष्ट गर्ने नै छु ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान गर्ने दिनमा बुधबार उनी संसद्‍मा अनुपस्थित भए । जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा समर्थन गर्ने निर्णय गरिसकेको अवस्थामा सांसद शाही मोबाइल ‘स्विच अफ’ गरी सम्पर्कविहीन भएपछि खैलाबैला मच्चिएको थियो ।

प्रकाशित मिति: Apr 29, 2021

प्रतिक्रिया दिनुहोस्