आजदेखि सर्वोच्चसहित देशभरका अदालतको सेवा प्रवाहमा कटौती गर्ने निर्णय
कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सर्वोच्च अदालतले आजदेखि सेवा प्रवाहमा कटौती गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको हिजो बसेको पूर्ण बैठकले वैशाख आजदेखि वैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने र बाँकी सेवा कटौती गर्ने निर्णय गरेको हो ।
कोभिड संक्रमणको अवधिभर बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धी अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरूको दर्ता र सुनुवाइ मात्रै हुने सर्वोच्चले निर्णय गरेको अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।
बैठकले उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधीकरणहरुको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्थाको मूल्यांकनका आधारमा उपयुक्त देखिएको काम कारवाही र सेवा प्रवाहको व्यवस्था सम्बन्धित अदालत तथा न्यायाधीकरणहरूले मिलाउने निर्णय गरेको छ ।
बाँकी थप निर्णय आवश्यकता अनुसार यही वैशाख ३१ गते बस्ने बैठकले तय गर्ने अदालतले जनाएको छ ।