भारतमा मे १ तारिखदेखि १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउने
छिमेकी मुलुक भारतमा आगामी मे १ तारिखदेखि १८ बर्षभन्दा माथिका सबै नागरिकलाई कोरोना खोप लगाउने भएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको बैठकले मे १ तारिखदेखि १८ वर्षमाथिका सबैलाई खोप दिने निर्णय गरेको हो ।
यस्तै, बैठकले खोप अभियानलाई अझै प्रभावकारी बनाउँदै तीव्र गतिमा खोप अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यस्तै, कोरोना विरुद्धको खोप खुला बजारमा बिक्री गर्न बैठकले स्वीकृति पनि दिएको खबरमा उल्लेख गरिएको छ ।
यो निर्णयसँगै अब खोप उत्पादक कम्पनीले हरेक महिना उत्पादन गर्ने कुल खोपको आधा प्रतिशत केन्द्र सरकारलाई बुझाउने छन् भने बाँकी रहेको प्रतिशत खुला बजारमा बेच्न पाउनेछन्।
भारतमा गएको २४ घण्टामा मात्रै २ लाख ७४ हजारभन्दा धेरैलाई कासङ्क्रमण भएको छ ।यो अवधिमा १७५७ जनाभन्दा धेरैको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
भारतमा अहिलेसम्म १२ करोड ३८ लाखभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाइसेका छन् । तर, सङ्क्रमण फैलिए अनुसार खोप अभियानलाई बढाउन नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ ।