Logo
५ आश्विन २०८१, शनिबार
(April 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना संक्रमण जेठ-असारमा उच्च विन्दुमा पुग्ने, हस्पिटलले धान्ला त ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण जेठ–असारमा उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरेको छ ।

जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित हुने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण गरिएको मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । ‘नहोस् तर अहिलेको ट्रेण्डका आधारमा यो प्रक्षेपण गरिएको हो’ उनले भने, ‘त्यसका लागि आवश्यक तयारी पनि गरिएको छ ।’

अहिले युवा र कम उमेर समूहमा नयाँ भेरियन्टको संक्रमण देखिनु डरलाग्दो भएको मन्त्री त्रिपाठीले बताए । संक्रमणको चेन ब्रेक गर्न उपत्यकासहित ठूला शहरहरुमा एक महिना विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस गरिएको उनले बताए ।

उनका अनुसार विदेशबाट आएकाहरुलाई मुख्य नाकामा नै टेष्ट गर्ने र संक्रमितलाई आइसोलेसन सेन्टर वा अस्पतालमा पठाइने रणनीति बनाइएको छ । यसका लागि मुख्य नाकामा एक हजार जना क्षमताको होल्डिङ सेन्टर बनाउने प्रक्रिया शुरु भएको मन्त्री त्रिपाठीले बताए ।

काठमाडौं उपत्यकाका सबै अस्पताललाई तयारी अवस्थामा राख्न भनिएको भन्दै स्वास्थ्यमन्त्री त्रिपाठीले भने, ‘हाम्रो प्रयत्न मुलुकलाई फेरि बन्दाबन्दीमा पुग्न नदिने हो ।’

प्रकाशित मिति: Apr 13, 2021

प्रतिक्रिया दिनुहोस्