Logo
५ आश्विन २०८१, शनिबार
(April 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना बढेनि लकडाउन हुन्न, ६० लाखलाई खोप दिन्छौं : स्वास्थ्यमन्त्री त्रिपाठी

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले कोरोना प्रसार रोक्न तत्काल लकडाउनको उपायमा सरकार प्रवेश नगर्ने बताएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै मन्त्री त्रिपाठीले भारत र विश्वभर कोरोना संक्रमण बढिरहेको सन्दर्भमा नेपालमा पनि लकडाउनमा पुग्नुअघि अपनाउनुपर्ने सबै उपाय अवलम्बन गरिने बताएका हुन्।

आगामी जेठ–असारमा कोरोना संक्रमण फेरि उच्च विन्दुमा पुग्नसक्ने आकलन उनले गरे। ‘जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा अर्को उच्च विन्दुमा पुग्नसक्छ,’ उनले भने। भारतमा बढ्दो संक्रमणले नेपाललाई थप सचेत बनाएको उनले बताए।

त्रिपाठीले आगामी असारसम्ममा ६० लाख नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने योजना रहेको बताएका छन्। सोमबार सांसद्हरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री त्रिपाठीले भने,’असारसम्ममा ६० लाख नागरिकलाई खोप लगाउने योजना बनाएका छौँ। १८ लाख नागरिकलाई लगाइसकिएको छ। ६५ वर्षभन्दा माथिकालाई १० दिनमा लगाइसक्ने योजना सरकारले बनाएको छ।,’

उनले सबै फ्रन्टलाइनरहरूका लागि जोखिम भत्ता पठाइसकिएको समेत दाबी गरे। ‘मन्त्रालयले सबै फ्रन्टलाइनरहरूलाई जोखिम भत्ता मन्त्रालयले पठाइसकेको छ। कुनै कुनै अस्पतालमा सबैलाइ दिन थालेकाले अप्ठेरो भएको हो,’ उनले भने।

प्रकाशित मिति: Apr 5, 2021

प्रतिक्रिया दिनुहोस्