अविश्वास प्रस्ताव सात दिनभित्र फिर्ता लिन मुख्यमन्त्री राइको निर्देशन
प्रदेश नं १ का मुख्यमन्त्री एवं नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता शेरधन राइले एक साताभित्र अविश्वास प्रस्ताव फिर्ता लिन सांसदहरुलाई निर्देशन दिएका छन् ।
आज बसेको संसदीय दलको बैठकमा राईले अविश्वास प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता नलिए विधान अनुसार कारबाही थालिने जानकारी गराएका छन् ।
सर्वोच्च अदालतको फैसला अनुसार माओवादी केन्द्र र एमाले ब्युँतिएपछि पहिलोपटक प्रदेश संसदीय दलको बैठक बसेको हो ।
मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा तत्कालीन प्रचण्ड-माधव पक्षका ३७ सांसदले हस्ताक्षर गरेका थिए । तीमध्ये ५ जनाले हस्ताक्षर फिर्ता लिइसकेका छन् ।
आज संसदीय दलको बैठकमा पुगेका २ जना माधव पक्षका सांसदहरूले केही दिनमै हस्ताक्षर फिर्ता गर्ने जानकारी गराएको बताइएको छ ।
प्रदेश १ सभामा सभामुखसहित एमालेका ५१ सांसद छन् । तीमध्ये २० जना माधव नेपाल पक्षका छन् ।