Logo
५ आश्विन २०८१, शनिबार
(March 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री केपी ओलीलाई भेट्न समय कुर्दै ‘सभामुख’ !

प्रधानमन्त्री केपी ओलीलाई भेट्न सभामुख अग्नि सापकोटाले समय कुरिरहेका छन् ।

सभामुख सापकोटाले संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्ने र सरकारले ल्याएका बिजनेस अगाडि बढाउनेबारे छलफल गर्न प्रधानमन्त्री ओलीसँग छलफल गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीसँग छलफल गर्नका लागि समय मागेको र खबर आउने अपेक्षा राखेको सापकोटाले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई बंगलादेश भ्रमणका लागि बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार प्रधानमन्त्रीसँग भएको भेटका क्रममा छलफलका लागि प्रधानमन्त्री ओलीसँग समय मागेको सापकोटाले बताए ।

प्रतिनिधिसभा पुन:स्थापना भएपछि प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच औपचारिक रुपमा भेटवार्ता भएको छैन । पछिल्लो समय सभामुख सापकोटाको भूमिकाप्रति प्रधानमन्त्री ओली असन्तुष्ट छन् । सभामुख साझा व्यक्ति भए पनि राजनीतिक विषयमा प्रवेश गरेको प्रधानमन्त्री ओलीको आरोप छ ।

‘कानुनमन्त्रीमार्फत कुरा भइरहेको थियो । त्यो कुरा प्रधानमन्त्रीसँग पुगेको रहेछ । आज राष्ट्रपतिज्यूलाई बिदाइ गर्ने क्रममा एयरपोर्टमा पनि प्रधानमन्त्रीसँग कुराकानी भयो । समय मागेको छु, खबर आउला,’ पत्रकारहरूसँगको भेटका क्रममा सभामुख सापकोटाले भने ।

संसद्‌मा आएका अध्यादेश आवश्यक रहेको र तिनलाई अगाडि बढाउन संसद् तयार रहेको सभामुख सापकोटाले बताए । उनले दलहरूबीच छलफल भइरहेको र निष्कर्ष निस्किने अपेक्षा राखेका छन् । ‘सरकारले ल्याएका कुरा अड्काउनु पर्छ भन्ने मलाई लागेको छैन, अड्काउने मनसाय पनि छैन । निष्पक्ष र तटस्थताका साथ अगाडि बढ्छु । निष्ठाका साथ अगाडि बढ्छु,’ सभामुख सापकोटाले भने ।

प्रतिनिधिसभा पुन:स्थापना भएको पहिलो बैठकमा अध्यादेश पेस गर्नुपर्नेमा प्रतिनिधिसभामा अवरोध भएकोले टेबुल हुन नसकेको सभामुखको प्रष्टिकरण थियो । उनले ती अध्यादेश टेबुल गर्न नियम निलम्बन गरेर अगाडि बढ्नेबारे दलहरूबीच छलफल चलिरहेको बताए ।

उपसभामुख निर्वाचनको लागि राजनीतिक दलहरू तयार भएमा आफू प्रक्रिया अगाडि बढाउन तयार रहेको सापकोटाको भनाइ थियो । त्यसमा पनि सत्तारूढ दलको भूमिका प्रमुख हुने उनले बताए । संविधानअनुसार सभामुख र उपसभामुख फरक-फरक दलको हुनुपर्ने भएकोले संसद्‌मा भएका दलहरूबीच उपसभामुख चयनबारे सहमति हुनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति: Mar 22, 2021

प्रतिक्रिया दिनुहोस्