Logo
५ आश्विन २०८१, शनिबार
(March 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शितलनिवासको सर्वदलिय बैठकमा खैलाबैला ! फेरी संसद् भंग गर्ने प्रधानमन्त्रीको चेतावनी


राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा डाकेको सर्वदलिय बैठकमा खैलाबैला मच्चिएको छ ।

प्रधानमन्त्री केपी ओलीले सरकार र संसद् चल्न दलहरुले अवरोध गरे फेरी आफू संसद् भंग गरेर ताजा जनादेशमा जाने संकेत गरेपछि सर्बदलिय बैठकमा खैलाबैला मच्चिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको मंगलबारको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन सही भएको जिकिर गर्दै यस्तो बताए ।

प्रधानमन्त्री ओलीले संसारका सबै सरकार प्रमुखले संसद विघटन गर्न पाउने र सोही अनुसार आफूले प्रतिनिधि सभा विघटन गरेको बताएपछि प्रचण्डले त्यसको प्रतिवाद गरेका थिए।

ओलीको कुरालाई दुई मिनेटमै काटेका प्रचण्डको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘यस्ता कुरा यहाँ नगर्नुस्। हामी यस्ता कुरा सुन्न आएका होइनौं। राष्ट्रपतिज्यूले किन बोलाउनुभएको हो, त्यता लागौं।’

ओलीले संविधानले दिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको जिकीर गरेका थिए। अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरिसकेको भन्दै उनले अब संसद चलाएर जानुपर्ने बताएका थिए।

सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन घोषणा असंवैधानिक भएको भन्दै फागुन ११ गते पुनःस्थापना गरेको थियो ।

राष्ट्रपति निवास शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा सहभागी नेमकिपा सांसद् प्रेम सुवालका अनुसार प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनबारे कुरा उठाएका थिए ।

‘प्रधानमन्त्रीले बोल्ने क्रममा सरकार र संसद् चल्ने अवस्था नआएपछि विघटन गरेको हो भन्नुभयो । उहाँले संविधानको धारा ७६ र ८५ मा पनि विघटनको व्यवस्था गरिएको छ भन्नुभयो । सरकार र संसद् नचले फेरि पनि विघटन हुन्छ भन्नुभयो । त्यसमा आश्चर्य मान्नुपर्ने कुरा छैन,’ सुवालले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने ।

प्रकाशित मिति: Mar 16, 2021

प्रतिक्रिया दिनुहोस्