सर्वोच्चको फैसला नआउँदै राष्ट्रपतिद्वारा पशुपतिमा क्षमा पूजा
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनासँगै त्यसका लागि भइरहेको क्षमा पूजा आज समापन हुँदैछ । आज क्षमा पूजाको विशेष विधिपूर्वक राष्ट्रपति विद्यादेवी भण्डारीले समापन गर्ने तयारी छ ।
हिजो बेलुका ९ बजेको साइतमा पशुपतिनाथको मूल मूर्ति (शिवलिङ्ग) को फेदमा सुनको नयाँ जलहरी राखिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालले जानकारी दिए ।
नयाँ जलहरी राख्ने क्रममा शिवलिङ्गलाई कुनै क्षति नभएको उनको दाबी छ । जलहरी स्थापनाका लागि पशुपतिमा गएको ८ गतेदेखि क्षमा पूजा हुँदै आएको छ ।
आज विशेष पूजाका लागि बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिमा जाने राष्ट्रपति कार्यालयले जनाएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चाँदीको जलहरीमाथि सुनको नयाँ जलहरी राखिएको हो ।
१ सय ८ किलोको जलहरी निर्माणका लागि कोषले राष्ट्र बैंकबाट १ सय ४ किलो सुन किनेको हो । बाँकी चार किलो चाँदी तथा तामा मिसाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मूल मन्दिरअघिको बसाहा र छानामा पनि सुनको जलप लगाउने निर्णय गरिसकेको छ । कोषका अनुसार जलहरिको लागि १०८ केजी सुन लाग्ने अनुमान छ ।
बसाहा र छानामा समेत गर्दा १४२ किलोग्राम सुन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । शास्त्रीय मान्यता एवं परम्परा अनुसार सुन लक्ष्मीको प्रतीक भएकाले शिवलिंगको जलहरिमा सुनको साटो चाँदी राख्ने चलन छ ।
यो परम्परा विपरीत सुनको जलहरि राख्न लागेको भन्दै स्थानीय एवं सम्पदाप्रेमीहरुले यसको विरोध गरिरहेका छन् । सुनको जलहरि राख्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दायर भएको छ ।