इन्धनको मूल्य वृद्धिसँगै हवाई भाडा बढ्यो
हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ ।
नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर रु दुई बढाउने निर्णय गरेकाले हवाई इन्धनको मूल्य जे-जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने निर्णय भएको सङ्घले आज विज्ञप्तिमार्फत जनाएको छ ।
निर्णय अनुसार सङ्घमा आबद्ध वायु सेवा कम्पनीले फागुन ८ गतेदेखि नयाँ इन्धन मूल्य लागू गर्नेछन् । सो विषयमा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतसमेत प्राप्त भई आएकाले हवाई इन्धनको मूल्य समायोजन गरिएको सङ्घले जनाएको छ ।
नयाँ मूल्यअनुसार साविकको प्रतिलिटर ६५ बाट वृद्धि भई ६७ कायम गरिएको छ । हवाई इन्धनको मूल्य बढेकाले सबै गन्तब्यको उडानमा थोरै मात्रामा हवाई भाडादर वृद्धि गरिएको सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले बताए ।
उनका अनुसार हवाई इन्धनको मूल्य बढेअनुरुप सबैभन्दा लामो गन्तब्य अर्थात् काठमाडौं-धनगढीका लागि ९० बढेको छ । काठमाडौँबाट सबैभन्दा नजिकको गन्तब्यमा न्यूनतम १० वृद्धि गरिएको छ भने काठमाडौँबाट हुने पर्वतीय उडानमा ७० बढेको छ ।