Logo
६ आश्विन २०८१, आईतबार
(February 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रशासन क्षेत्रलाई अस्थीर बनाउँदै सरकार, सचिवहरुको ध्यान रमना बुझ्नमै केन्द्रित

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई बिहीबार आठौं पटक सरुवा गरिएको छ । मन्त्रालयमा सरुवा गरिएको साढे चार महिनामा उनलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएको हो । उक्त कार्यालयमा तीन महिनाअघि सरुवा भएका सचिव सूर्य गौतमलाई श्रम मन्त्रालय पठाइएको छ । सचिव भएको दुई वर्षमा गौतमको यो पाँचौं पटक सरुवा हो ।

२०७३ मा सचिव भएका खगराज बराल साढे चार वर्षमा आठ ठाउँमा सरुवा भएका छन् । यस अवधिमा उनलाई सुर्खेत तथा पोखरा क्षेत्रीय कार्यालय, राष्ट्रिय सूचना आयोग, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उपराष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको तीन वर्षयता कर्मचारीतन्त्रलाई मनोमानी र परम्परागत ढंगले परिचालन गरिएको यी प्रतिनिधिमूलक उदाहरण मात्र हुन् ।
सरकारले प्रशासनिक क्षेत्रलाई अस्थीर बनाउने प्रयास गरेको यसबाट पुष्टी भएको छ ।

दुई तिहाइ नजिकको सरकारले यसको अन्त्य गर्ने अपेक्षा गरिए पनि तीन वर्षमा अवस्था जस्ताको तस्तै छ ।

सरकारले तीन–तीन महिनामा सरुवा गर्न थालेपछि सचिवहरू कार्यसम्पादनभन्दा पनि कुन बेला रमाना बुझ्नुपर्ने हो भन्ने मनस्थितिमा देखिएका छन् । यस प्रकारको सरुवाले मुलुकमा प्रशासकीय स्थिरता नआउने प्रशासनिक क्षेत्रका विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

‘एउटाले कुन सन्दर्भमा नीति बनाउँछ अर्कोले बुझ्दाबुझ्दै सरुवा हुने समय आउँछ,’ एक सचिवले भने, ‘सरकारको नीति नै बुझ्न नसकिने भयो ।’ कर्मचारीले लगनशील भएर काम गर्ने परिस्थिति नभएको उनले बताए । पूर्वमुख्य सचिव विमल कोइरालाले कर्मचारीको सरुवामा हुने अनावश्यक हस्तक्षेप सरकारकै निम्ति घातक भएको बताए । कर्मचारीतन्त्र स्थायी सरकार हो भन्ने मान्यता बिर्सेर छिटोछिटो सरुवा गर्ने प्रवृत्तिले सुशासन कायम गर्न नसकिने उनले तर्क गरे ।

प्रकाशित मिति: Feb 15, 2021

प्रतिक्रिया दिनुहोस्