जग्गाको मुआवजा नदिएको भन्दै स्थानीयले रोके रेल्वेको काम
प्रदेश नं २ स्थित रौतहटको चन्द्रपुर नगरपलिका-८ का किसानहरुले रेल्वेले अधिग्रहण गरेको जग्गाको मुआवजा नदिएको भन्दै रेल्वेको काम रोकेका छन् ।
जग्गाधनीले मुआब्जाको रकम पाएका छैनन् । तर ठेकेदारले धमाधम काम सुरु गरेपछि किसानहरु आक्रोशित छन् ।
मेची-महाकाली रेलमार्गको बर्दिबास-निजगढ खण्डस्थित रौतहटको सन्तपुर नजिक ४ नम्बर प्याकेजअन्तर्गत खेतका किसानले मुआब्जा नदिएको भन्दै बिहीबार काम रोकेका हुन् ।
केहीको एक महिनाअघि नै मालपोतलबाट रेल्वे विभागको नाममा जग्गा नामसारी भइसकेको छ ।तर हातमा एक पैसा पनि नपरेको किसान कृष्ण चौधरीले बताए ।
रेल्वेको नाममा पास भइसकेको लालपूर्जा बोकेर खेतमै उनीहरुले काम अवरोध गरेका थिए ।‘जग्गा पास भएकै दिन मुआब्जाको रकम पाइन्छ भन्यो । तर अहिलेसम्म हातमा एक पैसा परेको छैन,’ उनले भने,‘खेतमा धमाधम काम भइरहेको रहेछ । अब पैसा नपाएसम्म कामै हुन दिन्न ।’
उनको ८ कठ्ठा जग्गा रेल्वेमा परेको छ । समयमा मुआब्जा नपाएको भन्दै तीन महिनाअघि किसानले गहुँ, मकै, मसुरोलगायतका बाली लगाएका थिए ।
अहिले बाली भित्र्याउन नपाउँदै रेल्वेले धमाधम काम थालेको छ । त्यहाँ कुनै अप्रिय घटना हुन नदिन ईलाका प्रहरी चन्द्रनिगाहपुरबाट बिहानदेखि सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
रेल्वे विभागका डिई देबेन्द्र साहले मुआब्जा वितरणमा ढिला हुन गएको स्वीकारेका छन् । ‘किसानलाई दिने मुआब्जाको रकम नभएकै कारण ढिला हुन गएको हो ।अर्थ मन्त्रालयबाट निकासा हुन सकेको छैन,’ उनले भने,‘अबको एकसाताभित्र रकम निकासा हुन्छ । त्यसपछि किसानलाई बोलाएरै भुक्तानी गर्छौं ।’
उनले ८० प्रतिशत किसानको मुआब्जाको रकम वितरण भइसकेको दाबी गरे ।उक्त प्याकेज लामा गोल्डेन बिरुवा जेभीले ठेक्का लिएको हो ।