बिरगंजमा भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुई जना घाइते
प्रदेश नं २ स्थित पर्सामा भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ ।उक्त झडपमा दुईजना सशस्त्र प्रहरी घाइते भएका छन् ।
नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन गरिरहेका भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको हो ।
२४ वर्षीय आयुष राय यादव र अन्दाजी २५ वर्षीय नरेश यादव घाइते भएका हुन् । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
आयुषको देब्रे कानमा चोट लागेको छ । कानमा १८ वटा टाँका लगाइएको नारायणी अस्पताल स्रोतले जानकारी दिएको छ ।
नरेशको देब्रे हातको हड्डी भाँचिएको र खुट्टामा चोट लागेको अस्पतालले बताएको छ । दुवै जना खतरामुक्त रहेको नारायणी अस्पतालले जनाएको छ ।
पर्साको जगरनाथपुर गाउँपालिका-१ पिपडारीमा पर्ने ओरिया खोलाबाट वर्षेनी भारतीय बालुवा तस्करले बालुवा उत्खनन गरेर लैजाने गरेका छन् ।
भारतीयहरुले लाठि, भाठा, बेल्चा तथा ढुङ्गाले हान्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो । साथै नियन्त्रणमा लिएका ट्याक्टर पनि भारतीयहरुले खोसेर लगेका छन ।
नेपालतर्फ पर्ने ओरिया खोलामा बालुवा लिन आएका भारतीयलाई रोक्ने क्रममा झडप हुँदा दुईजना जवान घाइते भएको र स्थिति सामान्य रहेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले जानकारी दिए ।
ओरिया खोलामा वर्षौदेखि नेपाली भूमिमा प्रवेश गरी नदीजन्य पदार्थ उत्खनन गरी लैजाने गरे पनि सुरक्षा निकायले रोक्न सकेको छैन ।
उत्खनन रोक्न खोज्दा भारतीयहरुले सुरक्षाकर्मीलाई नै कुटपिट गर्ने, हतियार खोस्ने जस्ता कार्यहरु गर्दै आएका छन् ।