Logo
१२ मंसिर २०८१, बुधबार
(February 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहारमा नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या, प्रमाण नष्ट गर्न शवलाई मध्यरातमा जलाइयो

भारतको बिहारमा १२ वर्षीया नेपाली बालिकाको सामुहिक बलात्कार पछि हत्या भएको छ ।

भारतको बिहारको पूर्वी चम्पारण जिल्लामा ती बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको हो। यो घटना गत जनवरी २१ तारिखको हो।

बिबिसी हिन्दीका अनुसार बर्दियाको बारबर्दिया नगरपालिका-३ का एक जना नेपालीको परिवार मजदुरीका लागि त्यहाँ गएको थियो।

सात वर्षदेखि उनीहरू मोतिहारीको कुन्डवा चैनपुरमा मजदुरी गर्थे। घटना हुनुअघि ती बालिकाकी आमा नेपाल आएकी थिइन्।२१ जनवरीमा उनका बुवा मजदुरी गर्न गएका थिए भने दाइ कामको शिलशिलामा बजार गएका थिए।

साँझ चार बजेतिर डेरामा फर्किन लागेका दाइलाई घरबेटी सियाराम साहले रोक्न खोजे। उनी नरोकिएर डेरामा पुग्दा बहिनी घाइते भएर लडिरहेको देखे। बहिनीको यस्तो हालत देखेपछि उनले बुवालाई खबर गरे। काम छोडेर उनी तत्काल डेरामा आए।

उनका बुवाले घटनाको १२ दिनपछि प्रहरीलाई दिएको निवेदनमा भनिएको छ ‘मेरी छोरी भुइँमा लडिरहेकी थिई। उसको घाँटीमा रातो दाग थियो। मैले उसलाई उपचार गर्न स्थानीय डाक्टरहरूकहाँ लगें तर कसैले उपचार गर्न मानेनन्,’ ।

उपचार नपाएपछि ती बालिकाको मृत्यु भयो। मृत्युपछि गाउँका युवाहरू भेला भए।पीडितका बुवाका अनुसार प्रहरी अधिकारीको मिलेमतोमा उनीहरूले छोरीको लास जबरजस्ती जलाउन लगाए।

शव जलाउनुअघि पीडितका बुवालाई उनीहरूले खाली कागजमा साइन गर्न पनि लगाएका थिए।स्थानीय देवेन्द्रकुमार साहले बालिकाको शव तत्काल नजलाए बाबु र छोरालाई पनि मारेर लास नेपाल फालिदिने धम्की दिएको निवेदनमा उल्लेख छ।

ुराति १२ बजे छोरीको लासमा नुन र चिनी छर्केर जलाइयो। अर्को दिन बिहान मलाई नेपालतिर पठाइयो,’ उनको निवेदनमा भनिएको छ।

प्रारम्भिक अनुसन्धान र केही दिनअघि लिक भएको एउटा अडिओले उक्त घटनामा स्थानीय प्रहरी चौकीका प्रमुखले सघाएको खुलेको छ।

पूर्वी चम्पारणका एसपी नवीनचन्द्र झाले बिबिसीसँग भनेका छन्-भाइरल भएको अडिओबाट थानाध्यक्ष सञ्जीवकुमार रञ्जनको लापरबाही र कर्तव्यहिनता स्पष्ट हुन्छ। उनलाई निलम्बन गरिएको छ र उनीविरूद्ध एफआरआई दर्ता भएको छ।

भाइरल भएको अडिओमा सञ्जीवकुमारले एक जना अभियुक्तलाई ‘केटीको लासको व्यवस्था गरिदेऊ र चिसोका कारण मृत्यु भएको प्रहरीलाई रिपोर्ट लेखाइदेऊ’ भनेका छन्।

घटनाको १२ दिनपछि प्रहरीमा परेको उजुरीमा ११ जनालाई अभियुक्त बनाइएको छ। त्यसमध्ये पाँच जनालाई सामूहिक दुष्कर्म र हत्याको आरोप छ भने बाँकी सात जनालाई प्रमाण नष्ट गरेको अभियोग छ।

एसपी झाले बिबिसीलाई बताएअनुसार अहिलेसम्म २ जना अभियुक्तलाई पक्राउ गरिएको छ। उनीहरूलाई बलात्कारपछि हत्या गरेको अभियोगमा मुद्दा चलाइएको छ। पोष्टमार्टम नगरी शव जलाइएकाले उनको हत्या कसरी भएको थियो भन्ने खुल्न सकेको छैन।

प्रकाशित मिति: Feb 8, 2021

प्रतिक्रिया दिनुहोस्