पुटिनका आलोचक नाभाल्नीलाई साढे ३ वर्षको जेल सजाय
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका गम्भीर आलोचक विपक्षी नेता एलेक्सी नाभाल्नीलाई साढे तीन वर्षको जेल सजाय भएको छ
लगातारको बिस्तारित विरोध प्रदर्शनका बाबजुद नाभाल्नीलाई साढे तीन वर्षको जेल सजाय हुने भएको हो ।राष्ट्रपति पुटिनका गम्भीर आलोचक नाभाल्नीलाई निलम्बित सजायका शर्तहरु उल्लंघन गरेको अभियोगमा मस्कोको एक अदालतले साढे तीन वर्षको जेल सजाय सुनाएको हो ।
गएको महिना जर्मनीबाट रुस फर्किए लगत्तै नाभाल्नीलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो । त्यसको विरोधमा लगातार नाभाल्नीका समर्थकले प्रदर्शन गर्दै आएका छन् ।
गएको अगस्टमा उनीमाथि नर्भ एजेन्ट अट्याक (विष दिएर मार्ने प्रयास)भएको थियो । त्यसपछि नाभाल्नीलाई उपचारका लागि जर्मनी लगिएको थियो ।
पाँच महिनापछि स्वदेश फर्किएका उनलाई लगत्तै पक्राउ गरिएको थियो । नाभाल्नीका समर्थकले गरेको प्रदर्शनमा प्रहरीले ज्यादती गरेको भन्दै विश्वभरबाट आलोचना हुँदै आएको भए पनि रुसी सत्ताले त्यसको वास्ता गरेको छैन ।
मस्कोमा अदालती प्रक्रिया चलिरहेका बेला नाभाल्नीका समर्थकहरु जम्मा भएका थिए । प्रहरीले उनीहरुमाथि कुटपिट गरेको भिडियो तथा तस्बिरहरु सामाजिक सञ्जालमा साझा भएका छन् ।
रुसका अरु विभिन्न शहरमा पनि हजारौँको संख्यामा समर्थकहरुले प्रदर्शन गरेका छन् । अदालती सुनुवाईको क्रममा नाभाल्नीले राष्ट्रपति पुटिनले नै आफ्नो हत्या गर्ने मनसायले विष दिएको आरोप लगाए ।
उनले पुटिनलाई ‘विष दिने व्यक्ति’ भनेर सम्बोधन गरेका हुन् ।