Logo
६ आश्विन २०८१, आईतबार
(January 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं बर्डफ्लु भेटियो, जताततै फैलन सक्ने खतरा

नेपालमा फेरि बर्डफ्लु रोग देखापरेको छ । उपत्यकामा किसानले पालेका हाँस र टर्कीमा संक्रमण भेटिएको हो ।

पशु सेवा विभागका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–७ साङ्लेखोला, फुटुङमा नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो ।

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गरिएको विभागले जनाएको छ ।

‘शुक्रबार बेलुका पहिचान भयो, शनिबार त्यो क्षेत्र नियन्त्रणमा लिएका छौं,’ विभागका सूचना अधिकारी चन्द्र ढकालले भने । पुष्टि भएको क्षेत्रबाट अन्यत्र फैलिन नदिई तत्काल नियन्त्रणमा लिन उक्त ठाउँका सबै घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको उनले बताए ।

उक्त क्षेत्रमा १ हजार ८ सय ६५ हाँस, ६ सय २२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५ सय ४२ अन्डा र ७५ केजी दाना नष्ट गरिएको ढकालले जानकारी दिए । संक्रमण अन्यत्र फैलिन नदिन तथा नियन्त्रण गर्न संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरेको विभागले जनाएको छ ।

सबै निकायलाई सतर्क अवस्थामा राखेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले बताए । ‘भारतबाट रोग सार्न सक्ने वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाइएको छ,’ उनले भने ।

नेपालमा पर्ने जोखिम न्यूनीकरण गर्न विभागअन्तर्गतका सबै निकाय रोग नियन्त्रण शाखा, ल्याब, क्वारेन्टाइन, बजेट शाखा, अनुगमन शाखालाई सतर्क रहन निर्देशन दिइएको उनले बताए ।

विभागअन्तर्गत ८ वटा क्वारेन्टाइन कार्यालय र २४ वटा क्वारेन्टाइन चेकपोस्ट छन् । ती सबैलाई सतर्क रहन निर्देशन दिइएको छ ।

प्रकाशित मिति: Jan 31, 2021

प्रतिक्रिया दिनुहोस्